अटो शोमा १५ लाख मूल्य पर्ने नयाँ इलेक्ट्रीक कार आउँदै

काठमाडौं । नाडा अटो शो २०२३ मा मूल्यका हिसावले सबैभन्दा सस्तो कार सार्वजनिक हुने भएको छ । मिनी कारको भिड लाग्न सुरु भएको समयमा एमएडब्लू वृद्धिले सुरुवाती मूल्य १५ लाख हाराहारी पर्ने सेरेस ई-१ मोडल नेपालमा ल्याउन लागेको हो ।

कम्पनीले ल्याउने सेरेर ई-१ अहिले चीन, इन्डोनेशिया, पाकिस्तान जस्ता देशमा बिक्री वितरण हुँदै आएको छ । सेरेस ई-१ दुई ढोका भएको कार हो । सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार पारेको यो मिनी ईभी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा बिक्री हुँदै आएको छ ।

एमएडब्लू वृद्धिले बिक्री गर्ने सेरेस ई-१ कुन ब्याट्री अप्सनमा नेपाल आउँछ कम्पनीले जानकारी दिएको छैन । तर, यसको सर्ट रेन्ज मोडलमा १३.८ किलोवाट आवर र लङ रेन्ज मोडलमा १६.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । सर्ट रेन्जले १८० र लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

यसमा मोटर पनि फरक छ । सर्ट रेन्ज भर्सनमा २५ किलोवाट र लङ रेन्ज भर्सनमा ३० किलोवाट क्षमताको मोटर रहेको छ । दुबै भेरियन्टमा एसी चार्जर मात्रै प्रयोग हुन्छ । यसलाई ३.३ किलोवाट क्षमताको एसी चार्जरले अधिकतम ४ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले सुरक्षा फिचर पनि राम्रोसँग दिएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको कारमा, सिटबेल्ट रिमाइन्डर, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, एयरव्याग जस्ता फिचर पाउन सकिन्छ ।

यसमा प्रयोग भएका लाइटहरु एलइडी छन् । गाडीको साइज पनि निकै आकर्षक छ । यसको लम्वाई ३०३० एमएम, चौडाई १४९५ एमएम, उचाई १६४० एमएम रहेको छ ।

सेरेस ई-१ मा पावर स्टेरिङ पाउन सकिन्छ । साथै, यसमा दुई ढोका र ४ सिट क्षमता रहेको छ । कम्पनीले यसको आधिकारीक मूल्य र नेपाल आउने स्पेक भने भदौ २६ गते सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top