काठमाडौं । नेपालमा इलेक्ट्रीक दुई पाङ्ग्रेको बजार कारकोभन्दा निकै सुस्त छ । यसको मूख्य कारण जस्तो सुकै ब्रान्डका सवारीसाधन सहजै नेपाल आउनु हो ।
अहिले नेपालमा ५ दर्जनभन्दा धेरै ब्रान्डका स्कुटरहरु आयात हुने गरेको पाइन्छ । जसमा कतिपय नामै नसुनिएका ब्रान्डहरुसमेत छन् । कतिपय अवस्थामा ग्राहकलाई छनोट धेरै तर ठगिने डरले पनि उत्कृष्ट मोडल छनोट हुन सकेको छैन ।
जस्तो सुकै ब्रान्डका उत्पादन नेपाल भित्रिएको अवस्थामा कतिपय ब्रान्डहरु इन्टरनेटमा समेत नभेटिने भएका कारण ग्राहकले यसको रिभ्यू हेरेर किन्न सक्ने अवस्था समेत छैन ।
अहिले बजारमा १ लाख ५० हजार रुपैयाँदेखि ५८ लाख रुपैयाँसम्मका इलेक्ट्रीक दुई पाङ्ग्रे साधन उपलब्ध छन् । यस्तोमा ३ लाखभन्दा कम बजेटमा पाइने उत्कृष्ट स्कुटर कुन हो भनेर छुट्टाउन कठिन हुन्छ ।
त्यसैले हामीले तीन ब्रान्ड तीन मोडलका स्कुटरका बारेमा यहाँ चर्चा गरेका छौं, जुन स्कुटहरु किन्दा तपाई ढुक्क हुन सक्नु हुन्छ ।
सेगवे ई १०० एल
सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी आई हव प्रालिले बिक्री गर्दै आएको ई १०० इलेक्ट्रीक स्कुटर उत्कृष्ट मोडलमा पर्छ । यसमा २.४ किलोवाटको म्याक्स पावर र १.८ किलोवाट रेटेड पावर भएको मोटर छ । यो मोटरले १५० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ५८ किलोमिटर प्रतिघन्टा रहेको छ ।
सेगवे ई १०० स्कुटर सुरक्षाको हिसाबले अत्याधुनिक प्रविधिको छ । सेगवे इ-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म गुडाउन सकिदैन ।

यसमा कि–लेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ ।
यो इ-स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड जस्ता फिचर पाउन सकिन्छ । यसलाई सिंगल चार्जमा १०० किलोमिटर चलाउन सकिन्छ ।
सेगवे ई-१०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरेर बिक्री हुँदै आएको छ ।
सुपर शोको सीयूएक्स

सुपर शोकोको नेपालका लागि अािधकारिक बिक्रेता कम्पनी डी लाइफ स्टाइलले नेपालमा बिक्री गर्ने सुपर शोको सीयूएक्समा बश कम्पनीको २.७ किलोवाट क्षमताको मोटर रहेको छ ।
टप स्पीड क्षमता ७५ किलोमिटर रहेको सुपर शोको सीयूएक्स स्कुटरले एक पटकको फुलचार्जमा ८५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसलाई एक पटक फुल चार्ज गर्न ३.५ घन्टा समय लाग्छ । यसमा ६० भोल्ट ३० एम्पीयर आवरको लिथियम आयान ब्याट्री उपलब्ध छ ।
यो स्कुटरमा ट्यूव लेस टायर, किलेस स्टार्ट, डिस्क ब्रेक, रिमुभएवल ब्याट्री, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडि लाइट्स जस्ता फिचर पाउन सकिन्छ ।
सुपर शोको सीयूएक्सको ब्याट्रीमा तीन वर्ष ग्यारेन्टी र मोटरमा २ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो स्कुटरको मूल्य २ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
याडिया ई८एस
याडिया इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले १५० किलोमिटर रेन्ज दिने दावी गरेको याडिया ई ८ एसमा २८०० वाट म्याक्स पावरको मोटर जडान गरिएको छ । यो मोटरले अधिकतम १४० एनएम टर्क जेनेरेट गर्छ भने, यसको टप स्पीड ६० किलोमिटर प्रति घन्टा रहेको छ ।
यसमा ३८ एम्पीयर ७२ भोल्टको ग्राफिनी ब्याट्री दिइएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

याडिया ई८ एस डबल डिस्क ब्रेक, कलर एलइडी डिस्प्ले, रिजेनेरेशन सिस्टम, फास्ट चार्जिङ सर्पोट जस्ता फिचर छन् । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ ।

