टेष्ट ड्राइभ रिभ्यूः प्रतिस्पर्धी विहिन अफरोड मेशिन जिम्नी (भिडियाे सहित)

काठमाडौं । मारुती सुजुकी जिप्सी नेपालीको लागि परिचित नाम हो । धेरै नेपालीले आफ्नो ग्यारेजमा राखेको जिप्सी उत्पादन बन्द भएपछि सुजुकी प्रेमी निरास थिए । अफरोडको लागि निकै उपयोगी र सहरी क्षेत्रमा पनि मज्जाले चढेर हिड्न मिल्ने भएको कारण जिप्सी चर्चित थियो ।

जिप्सी बन्द भएपनि सुजुकीले जापानमा उत्पादन गरेको जिम्नीले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको थियो । सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले सन् २०२० मा जापानबाट जिम्नी आयात गरेको थियो । मूल्यको हिसावले महंगो परेको जापानी उत्पादनमा तीन ढोका थिए ।

समय फेरियो, सुजुकी इन्डियामा निकै आक्रमक उत्पादनमा लाग्यो । एकपछि अर्को एसयूभी उत्पादन गर्ने क्रममा कम्पनीले ५ ढोका भएको जिम्नी उत्पादन गर्ने निर्णय गरेको थियो । समयक्रमसँगै भारतीय उत्पादन जिम्नी नेपाल आइपुग्यो ।

नेपालको बाटाहरु तपाईलाई यादनै छ । उकालो, ओरालो, हिलो, कच्ची र फोर ह्वील ड्राइभ भएका गाडीले मात्रै यात्रा गर्न सक्ने धेरै बाटाहरु छन् । कतिपय राजमार्ग नै फोर ह्वील आवश्यक पर्ने किसिमका छन् । यस्ता बाटामा यात्रा गर्न जिम्नी एक अचुक मेसिन हो ।

लाइफ स्टाइल प्रोडक्ट

विश्वभर जिम्नीलाई लाइफस्टाइल प्रोडक्टको रुपमा लिने गरिन्छ । सडकको ट्रयाक मात्रै बनेका जंगल, हिमाल र पहाडमा चलाएर हिड्न पाइने भएको कारण यसको माग उच्च रहेको हो ।

फोर ह्वील ड्राइभ सिस्टम र अल ग्रिप-प्रो फिचरको कारण यसलाई कठिन बाटोमा पनि सहजै चलाउन सकिन्छ ।

सिजी मोटोकर्पले दुई भेरियन्ट जेटा र अल्फामा यसलाई उपलब्ध गराएको छ । यसको अटोमेटीक भेरियन्ट पनि आउने कम्पनीको भनाइ छ । अहिले बिक्री भइरहेको जेटा म्यानुअलको मूल्य ५९ लाख ९९ हजार र अल्फा म्यानुअलको ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

ड्राइभिङ अनुभव

जिम्नी हेर्दा र चलाउँदा निकै फरक महसुस हुने मोडल हो । यसलाई हामीले दुई दिन चलाएर हेरेका थियौं । खरावभन्दा खराब बाटाहरुमा पनि यसको पफर्मेन्स उत्कृष्ट थियो । यसलाई ह्याण्डलिङ गर्न पनि निकै सहज छ ।

तपाईलाई यसको टायर साइज झट्ट सुन्दा सानो लाग्छ नै । जम्मा १५ इन्चको ह्वील साइज यसमा छ, तर फ्ल्याट टायर भएको कारण हेर्दा आकर्षक र कच्ची रोडमा पनि राम्रै ग्रिप बनाउँछ । ह्वील आर्क निकै ठूलो रहेको छ । जसको कारण धेरै हिलोमा ग्रिपको लागि चेन प्रयोग गर्न परेको खण्डमा पनि सहज हुन्छ ।

सानो साइजको गाडी र २१० एमएमको ग्राउन्ड क्लियरेन्सले खराब बाटाहरुमा यसलाई कसरी चलाउन सकिन्छ भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । तर, यो गाडीको अप्रोच एङ्गल ३६ डिग्री, डिपार्चर एङ्गल ४९ डिग्री र र्याम्प ब्रेकओभर एङ्गल २८ डिग्री भएको कारण जहाँ पनि सजिलै चलाउन सकिन्छ ।

क्याविनका कुरा

यसको इन्टेरियर निकै कम्प्याक्ट छ । मस्कुलर इन्ट्रुमेन्ट क्लष्टर र सुजुकीको सफल मल्टी फङ्गशनल स्टेरिङ ह्वीलले चालक साइड लोडेड देखिन्छ । सानो ड्यासबोर्डमा ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हाड प्लास्टीक प्रयोग भएको ड्यासबोर्ड, कलात्मक रुपले सजाइएको कन्ट्रोल बटमहरुले कुनै कुराको कमी हुन दिदैन ।

यसको क्याविन यति कम्प्याक्ट छ कि मोवाइल फोन राख्ने स्थान समेत छैन । पानीका बोटलहरु राख्ने ठाँउ खोज्नु पर्छ । अर्को, गाडीमा प्यासेन्जर नबस्दा पनि सिटवेल्ट वार्निङ आउँछ र सिटबेल्ट बाँधेर राख्नु पर्छ ।

इन्जिन र पावर

सुजुकीले ल्याडर फ्रेम च्याचिसमा उत्पादन गरेको यो एसयूभीमा १.५ लिटर क्षमताको फोर सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर प्रदान गर्छ ।

सानो गाडी भएका कारण यसको पावर निकै उत्कृष्ट लाग्छ । त्यसमा पनि रियर ह्विल ड्राइभ भएकाले खराब बाटाहरुमा चलाउँदा मज्जा नै बेग्लै ।

निस्कर्ष

धेरै समय गाडीमा घुम्ने, अफरोड र अनरोड दुबै बाटोमा तपाईले यात्रा गर्नु हुन्छ भने जिम्नी जत्तिको सजिलो गाडी तपाईले आजको मितिमा नेपालमा किन्न पाउनु हुन्न । विशेषगरी कम्प्याक्ट एसयूभी भएको कारण यसलाई सहजै सानो बाटाहरुमा पनि ह्याण्डलिङ गर्न सकिन्छ ।

एड्भेन्चर मनपराउनेको लागि यो एउटा पर्फेक्ट मेसिन हो भन्दा फरक पर्दैन । त्यसमा बजारमा महिन्द्रा थार जस्ता प्रोडक्ट उपलब्ध नहुँनु र गुर्खाको मूल्य नै महंगो हुँदा उत्कृष्ट विकल्पको रुपमा जिम्नीले बजारमा राम्रो बिक्री पाउने अनुमान गर्न सकिन्छ ।


Back_to_top