काठमाडौं । मारुती सुजुकी भारतमा सर्वाधिक सफल ब्राण्ड हो । भारतमै बिक्रीको कारण धेरै गाडी बिक्री गर्ने ब्राण्डको सूचीमा सुजुकीले राम्रो स्थान हासिल गर्दै आएको छ ।
भारतीय बजारमा अगष्ट महिनामा मात्रै ३ लाख ६० हजार यूनिट कार बिक्री भएको थियो । यसरी कार बिक्री गर्दा ४२ प्रतिशतभन्दा बढी बजार हिस्सा मारुती सुजुकीले लिएको छ ।
धेरै गाडी बिक्री गर्ने कम्पनीको मोडल अनुसारको बिक्री राम्रो हुनु स्वभाविक हो । तर, धेरै बिक्री हुने सूचीको १० मोडलमा ८ मोडल पर्नु भने निकै अनौठो मानिन्छ । यस्तै भएको देखिन्छ अगष्ट २०२३ को भारतीय बजारमा धेरै बिक्री भएका १० कार मोडलमा ।
अगष्टमा सबैभन्दा धेरै बिक्री भएका १० मोडलमा टाटा पन्च र हुन्डाई क्रेटा मात्रै परेका छन् । यी दुई मोडलका अलावा सबै मोडल मारुती सुजुकीका हुन् । मारुती सुजुकी स्वीफ्ट सबैभन्दा धेरै बिक्री हुने मोडलको टपमा रहेको छ । अगष्टमा १८ हजार ६५३ यूनिट स्वीफ्ट फ्याक्ट्रीबाट डिलरकोमा पठाइएको छ ।
त्यसैगरी दोस्रो स्थानमा बलेनो रहेको छ । बलेनो १८ हजार ५१६ यूनिट बिक्री हुँदा वागेनआर १५ हजार ५७८ यूनिट र ब्रेजा १४ हजार ५७२ यूनिट बिक्री भएको छ ।
सूचीको पाँचौ स्थानमा टाटा पन्च १४ हजार ५२३ यूनिट सहित रहँदा १३ हजार ८३२ यूनिटसहित हुन्डाई क्रेटा छैटौं स्थानमा रहेको छ । त्यसैगरी सूचीको सातौंदेखि १० औं स्थानमा मारुती सुजुकीका गाडी छन् । क्रमशः डिजायर १३ हजार २९३ यूनिट, आर्टिगा १२ हजार ३१५ यूनिट र फ्रोङ्कस १२ हजार १६४ यूनिटसहित टप १० भित्र पर्न सफल भएका छन् ।

