तोकियो इटी-५ एसयूभीको मूल्य, आजैबाट बुकिङ खुल्ला

स्काइवेल इटी-५

काठमाडौं । जी मोटर्सले नेपाल ल्याएको ‘स्काइवेल’ इटी-५ को मूल्य सार्वजनिक भएको छ । नाडा अटो शोमा प्रदर्शनी गर्न लागिएको इटी-५ को मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको हो ।

नयाँ ब्राण्डको बारेमा जानकारी दिदै जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाले इटी-५ आजैबाट बुकिङ खुल्ला भएको जानकारी दिएका हुन् ।

‘हामीले प्रिमियम एसयूभी बजारमा ल्याएका छौं । रेन्जका हिसावले पनि यो अहिलेसम्म नेपाल आएको सबैभन्दा बढी रेन्ज भएको मोडल हो’, गेलालले भने ।

इटी-५मा ८५.९७ किलोवाट आवरको हाइडेन्सीटी लिथिएम टर्नरी थर्मोस्ट्याटीक पावर ब्याट्रीप्याक रहेको छ । यसले एक पटकको फुलचार्जमा ६४२ किलोमिटर रेन्ज दिने डब्लुएलटीपी परीक्षणबाट प्रमाणित भएको छ ।

जी ईभीले नेपाल ल्याउने इटी-५ एसयूभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर छ । ठूलो ब्याट्री र मोटर तथा प्रिमियम फिचरले भरिपूर्ण एसयूभी भएकै कारण यसको मूल्य महंगो भएको कम्पनीको दावी छ ।

कम्पनीले आजबाट स्काइवेल इटी-५ को बुकिङ खुल्ला भएको जनाएको छ । आगामी भदौ २६ गतेबाट सुरु हुने नाडा अटो शोमा भने एसयूभी प्रदर्शन गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले सुरुमा नै काठमाडौंको नक्साल, भक्तपुरको राधेराधे र सुनसरीको इटहरीमा शोरुम संचालनमा ल्याउने जनाएको छ । साथै, भक्तपुरमा सुविधा सम्पन्न शोरुम निर्माणको काम समेत अगाडि बढेको छ ।

कम्पनीले थप नेटवर्क बिस्तार गर्न बिराटनगर, नारायणगढ र ललितपुरमा डिलर नियुक्त गरिसकेको प्रबन्ध निर्देशक गेलालले बताए ।


Back_to_top