काठमाडौं । देशकै ठूलो शो मानिने ‘नाडा अटो शो २०२३’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । यसपटकको अटो शोमा दुई दर्जनभन्दा बढी नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुँदैछन् ।
अटो शोमा ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी गर्दैछन् । प्रदर्शनी हुने ब्राण्डमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् । यसका अलावा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि अटो शोमा रहने छ ।
नाडाले गर्न लागेको अटो शो २०२३ समग्रमा १५औं संस्करण हो । यसको मुख्य प्रायोजक ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ । साथै, सह–प्रायोजक शिखर इन्सुरेन्स कम्पनी छ ।
प्रदर्शनीमा ठूला तथा सानागरी करिव १२० वटा स्टलहरु रहने छन् । सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु प्रदर्शनी हुनेछ ।
प्रदर्शनीमा सवारी ब्राण्डका अलावा ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
यस पटकको नाडा अटो शोमा विद्युतीय सवारीसाधन मुख्य आकर्षण हुनेछ । सेरेस र स्काइवेल ब्राण्ड नाडा अटो शो मार्फत पहिलो पटक बजारमा प्रबेश गर्दैछन् भने नेटाले पहिलो पटक आफ्नो इलेक्ट्रीक रेन्ज नेपालमा देखाउने छ ।
दुई पाङ्ग्रेमा पनि बजाज, होन्डा, टीभीएस, रोयल इनफिल्ड जस्ता ब्राण्डले नयाँ उत्पादन प्रदर्शनी गर्नेछन् । समग्रमा दुई दर्जनभन्दा बढी नयाँ साधन अटो शोमा प्रदर्शनी हुनेछ ।

