मङ्सिरदेखि बस चालकले पनि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । 

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिए । 

तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए । ‘ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौं’, उनले भने । 

महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोहीअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले उक्त ज्याकेट लगाउँदै आएका छन् । 


Back_to_top