काठमाडौं । पानी माथि गुड्न सक्ने कार बजारमा आएको छ । चिनियाँ कम्पनीले आधा घण्टासम्म पानीमाथि गुडाउन सकिने याङवाङ ब्राण्डको यू-८ मोडल कार बजारमा ल्याएको हो ।
याङवाङ रगेड अफरोड मोडल बनाउने ब्राण्डको रूपमा बीवाइडीले ल्याएको हो । यो एसयूभी प्योर अफरोडर भएको कारण गहिरो पानीमा पनि गुड्ने क्षमता राख्छ । यू-८ एसयूभी १.४ मिटर (५५ इन्च) गहिरो पानीमा पनि सजिलै गुड्न सक्छ ।
यू-८ मोडललाई ‘याचिङ’ मोडमा लगाएपछि यसमा रहेको अनबोर्ड सेन्सरले गाडीको सस्पेन्सनलाई उचाल्छ । साथै, पेट्रोल इन्जिनलाई बन्द गर्ने, आन्तरिक एयर कण्डिसनलाई रि-सर्कुलेसन मोडमा राख्ने र यात्रुको सुरक्षाका लागि सबै झ्यालहरू बन्द गर्ने काम गर्छ । त्यसपछि यसको सनरुफ पनि खोलिदिन्छ ।
कम्पनीका अनुसार यू-८ हाइब्रिड मोडल ३० मिनेटसम्म पानीमा तैरिन सक्छ भने ३ किलोमिटर प्रतिघण्टाको स्पीडमा अगाडि बढ्न सक्छ । बीवाइडीका अनुसार यो एसयूभीमा आइपी-६८ लेभलको वाटर पु्रफिङ रहेको छ ।
बीवाइडीको प्रिमियम ब्राण्डको रूपमा आएको याङवाङ चिनियाँ बजारमा केही दिनअघि बिक्री सुरू भएको हो । कम्पनीले यसको मूल्य यू–८ हाइब्रिड कारको मूल्य १ लाख ५० हजार ६०० अमेरिकी डलर तोकेर बिक्री सुरू गरेको हो ।
याङवाङको नयाँ एसयूभीले रेन्ज रोभर र मर्सिडिजका लग्जरी मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । कम्पनीले यू–८मा पानीमा तैरिन सक्ने बाहेक रोकेकै स्थानमा ३६० डिग्रीमा टर्न गर्न गर्न सकिने फिचर दिइएको छ ।
यसको चारवटा चक्कामा इलेक्ट्रीक मोटर दिइएको र चक्काहरू एक समयमा फरक फरक दिशामा घुम्न सक्ने बनाइएको कारण रोकेकै स्थानमा ३६० डिग्रीमा टर्न गर्न सकिन्छ ।
यस्तो छ याङवाङ यू-८
याङवाङ यू-८को लम्बाइ ५३१९ एमएम, चौडाइ २०५० एमएम र उचाइ १९३० एमएम रहेको छ । कम्पनीले यसमा ३०५० एमएमको ह्वीलबेस प्रयोग गरेको छ ।
यसमा रहेको इलेक्ट्रीक र पेट्रोल इन्जिनको संयुक्त पावर १२०० पीएस रहेको छ । यसले ३.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने कम्पनीको दाबी छ ।
हाइब्रिड एसयूभीमा ४९.०५ किलोवाट आवरको ब्याट्री प्याक छ, यसलाई इलेक्ट्रीक मोडमा मात्रै सिंगल चार्जमा १८० किलोमिटर गुडाउन सकिन्छ । यसमा पेट्रोल इन्जिन भने २.० लिटरको टर्बो रहेको छ ।
यू-८लाई कम्पनीले प्रिमियम र अफरोड मास्टर गरी दुई फरक भेरियन्टमा उपलब्ध गराएको छ । प्रिमियम एडिसनमा १० फरक ड्राइभिङ मोड, ट्याङ रन, फ्लोटिङ याचसहित ५ वटा फङ्सन पाउन सकिन्छ ।

