काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले पहिलो पटक आफ्ना विद्युतीय कारको मूल्य कटौती गरेको छ । कम्पनीले कोरियन मार्केटबाट मूल्य घटाएको हो ।
हुन्डाई मोटर ग्रुप अन्तर्गत रहेका हुन्डाई र किया दुबै ब्राण्डको विद्युतीय कारको मूल्य ३ हजार डलरले घटाइएको हो । मूल्य घटेका मोडलमा आयोनीक-५, ईभी-६, आयोनीक-६ र निरो ईभी छन् ।
टेस्ला, बीवाइडी, फक्सवागेनदेखि बीएमडब्लू र मर्सिडिजले पनि आफ्ना ईभीको मूल्यमा कटौती गरेका थिए । अन्य ब्राण्डको तुलनामा हुन्डाईले निकै ढिलोगरी ईभीको मूल्य कटौती गरेको हो ।
कम्पनीले यसलाई अहिले पनि डिस्काउन्ट भनेको छ । मूल्य घटाइएको भनेको छैन । उसले सन् २०२३ को अन्तिमसम्म यो छुट उपलब्ध हुने जनाएको छ ।
हुन्डाईका कार अन्य देशको तुलनामा कोरियन बजारमा सस्तो मानिन्छ । त्यसमा पनि छुट पाउने भएपछि कोरियामा विद्युतीय कारको माग बढ्ने अनुमान गरिएको छ । सन् २०२१ को तुलनामा २०२२ मा ईभीको बिक्री दक्षिण कोरियामा घटेको थियो ।
साङयोङले कम मूल्यमा नै ईभीएक्स घोषणा गरेको कारण हुन्डाई मोटर ग्रुपले ईभीमा छुट ल्याएको हुनसक्ने अनुमान लगाइएको छ । साङयोङले ३० हजार डलरमा नै नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने घोषणा गरेको छ ।
हुन्डाईले क्रमिक रुपमा अन्तर्राष्ट्रिय बजारमा पनि ईभीको मूल्य कटौती गर्न सक्ने जानकारहरुले बताएका छन् । टेस्ला, फक्सवागेन लगायतका ब्राण्डले ईभीको मूल्य आक्रमक बनाएसँगै अन्य निर्माताहरुलाई पनि मूल्य घटाउनै पर्ने दवाव पर्दै आएको छ ।


