सिट्रोनको नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक, सेग्मेन्टमै सस्तो मूल्य

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ‘सीथ्री एयरक्रस’ लन्च गरेको छ । कम्पनीले निकै प्रतिस्पर्धी मानिएको सेग्मेन्टमा नयाँ मोडल सार्वजनिक गरेको हो ।

भारतीय बजारमा अहिले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, मारुती सुजुकी ग्राण्ड भिटारा र एमजीको एस्टर जस्ता मोडल उपलब्ध छन् । यी नै मोडलसँग सीथ्री एयरक्रसको प्रतिस्पर्धा हुनेछ ।

सिट्रोन सीथ्री एयरक्रसको लम्बाई ४३०० एमएम छ भने ह्वीलवेस २६७१ एमएम रहेको छ । यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । सिट्रोनले सीथ्री एयरक्रस ५ सिट र ७ सिट अप्सनमा ल्याउने छ । मस्कुलर बडी डिजाइन रहेको एसयूभीमा १७ इन्चको ४ स्पोक ड्यूल टोन अलोय ह्वील पाउन सकिन्छ ।

भारतीय बजारमा ४ वटा सिंगल टोन र ६ ड्यूल टोन कलरमा यसलाई सार्वजनिक गरिएको छ । यो एसयूभीमा २ फरक ड्यासबोर्ड कलर अप्सन दिइएको छ । सिट्रोनले यू, प्लस र म्याक्स भेरियन्टमा सीथ्री एयरक्रस सार्वजनिक गरेको छ । यसको मूल्य ९ लाख ९९ देखि १२ लाख ३४ हजारसम्म तोकिएको छ । जुन सेग्मेन्टमा उपलब्ध एसयूभी मध्ये सबैभन्दा कम मूल्य हो ।

कम्पनीले १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा यसलाई ल्याएको छ । उक्त इन्जिनले अधिकतम ११० पीएस पावर र १९० न्यूटन मिटर टर्क जनेररेट गर्छ । अहिले ६ स्पीड म्यानुअल गियरबक्समा मात्रै सीथ्री एयरक्रस उपलब्ध छ ।

सीथ्री एयरक्रस सिट्रोनको कम्प्याक्ट एसयूभी सीथ्री बनेकै सीएमपी प्लेटफर्ममा बनेको हो । यसको ड्यासबोर्ड डिजाइन पनि सीथ्री कम्प्याक एसयूभीकै जस्तो रहेको छ ।

कम्पनीले यसमा १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टीभीटी, ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल, म्यानुअल एयर कन्डिसन, रुफ माउण्टेड रियर एसी भेन्ट, लेदरेट अपहोस्ट्रे, हाइट एड्जस्टेबल ड्राइभर सिट, स्टेरिङ माउण्टेड कन्ट्रोल बटम दिएको छ ।

सेफ्टीका लागि ६ वटा एयरव्याग, रियर भ्यू क्यामरा, हाइस्पीड अलर्ट सिस्टम, इलेक्ट्रोनीक ब्रेक फोर्स डिस्ट्रीव्यूसन, इलेक्ट्रीक स्टेबीलीटी प्रोग्राम, इबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर आदि पाउन सकिन्छ ।


Back_to_top