विश्वका ठूला कार निर्माता सहभागि ‘जेनेभा इन्टरनेशनल मोटर शो‘ कतारमा सुरु

काठमाडौं । विगत ११८ वर्षदेखि स्वीटजरल्याण्डको जेनेभा सहरमा आयोजना हुँदै आएको ‘जेनेभा अटो शो’ पहिलो पटक कतारमा सुरु भएको छ । अक्टोबर ७ तारिखबाट आयोजना भएको अटो शो १४ अक्टोबरसम्म चल्नेछ ।

कोभिड १९ महामारीका कारण तीन वर्षपछि जेनेभा इन्टरनेशनल मोटर शो आयोजना भएको हो । सन् २०२१ मै कतारले जेनेभा इन्टरनेशनल मोटर शोको आयोजकसँग १० वर्षको लागि उक्त शो आयोजना गर्ने सम्झौता गरेको थियो ।

उक्त संझौता अनुसार प्रत्येक २ वर्षको फरकमा कतारमा अटो शो आयोजना हुनेछ । अर्को वर्षको अटो शो भने सन् २०२४ मै जेनेभामा हुनेछ ।

जेनेभा इन्टरनेशनल मोटर शो विश्वको हाइप्रोफाइल अटो शो मध्ये एक हो । यो शो मार्फत अटोमोवाइल कम्पनीहरुले नयाँ अटोमोवाइल ब्राण्ड, मोडल तथा अटोमोवाइल क्षेत्रमा आउने भविष्यका टेक्नोलोजीहरु एकै स्थानमा प्रदर्शन गछन् ।

जेनेभा इन्टरनेशनल मोटर शो कतारमै आयोजना गरिनुको प्रमुख कारण पछाडि मध्यपूर्व एसियामा अटोमोवाइलको बढ्दो बजारलाई लिन सकिन्छ । कतार, साउदी अरब, संयूक्त अबर इमिरेट्सका सहरहरुमा अटोमोवाइलको उच्च माग रहदै आएको छ ।

पूर्वि एशियाका जनताहरुको प्रतिब्यक्ति आय पनि एकदमै धेरै भएकाले कार कम्पनीहरु दोहामा हुन लागेको जेनेभा इन्टरनेशनल मोटर शोमा धेरै उत्साहित रहेका छन् ।

अक्टुबर ७ देखि १४ सम्म कतारको दोहामा हुने जेनेभा इन्टरनेशनल मोटर शोको पहिलो एडिसनमा विश्वभरीका ३० अटोमोवाइल कम्पनीले भाग लिएका छन् । उक्त शोमा टोयोटा, लेक्सस, निसान, ज्यागुअर रेन्जरोभर, पोर्से, फक्सवागेन, लेम्बोर्गीनी, मर्सिडिज, बीएमडब्लू, अउडी, मिनी, म्याकलरेन, किया, चेरी जस्ता स्थापित अटोमोवाइल ब्राण्ड सहभागी भएका छन् ।

त्यस्तै उक्त शोमा भिनफास्ट, अमोडा, लुसिड मोटर्स, एनटप जस्ता नयाँ ब्राण्डहरु समेत प्रदर्शनीमा रहेका छन् ।

स्वीटजरल्याण्ड बाहिर पहिलो पटक आयोजना भएको यो अटो शोको दोस्रो दिन अर्थात् आइतबार (आज) कतार फर्मूला वान ग्राण्ड पिक्सको मेन रेशसमेत रहेको छ । मात्र ५० कतारी रियाल इन्ट्री फि रहेको कतारमा हुने जेनेभा इन्टरनेशनल मोटर शोको सबै टिकट बिक्री भइसकेको जनाइएको छ ।


Back_to_top