शोरुममा बढ्यो भिडभाड, सुरु भयो दशैं

काठमाडौं । हिन्दुहरुले मनाउने सबैभन्दा ठूलो चाड बडा दशैं २०८० आजबाट सुरु भएको छ । धेरै मानिसले आफ्नो घरमा नै घटस्थापना गरी दशैंको पहिलो दिनलाई भब्य स्वागत गरेका छन् । घरमा जमरा नराख्नेहरुले पनि मठमन्दिरमा लगेर जमरा राख्ने परम्परा रहि आएको छ ।

दशैं आएको भिडाभाड देखिने क्षेत्र गाडी बिक्री गर्ने शोरुमहरु पनि हुन् । सोह्र श्राद्धभर मानिसले बुकिङ गरेर छाडेका गाडी आज डेलिभरी लिने धेरैको चाहना हुनेगरेको विगतलाई पच्छ्याउँदै यसपटक पनि बिहान अफिस खुलेसँगै मानिसहरु गाडीको शोरुम पुगेका छन् ।

बिहान १० बजे नक्सालमा रहेको एमजीको शोरुम पुग्दा डेलिभरी लिने ग्राहकको पुगिसकेका थिए । शोरुमका सेल्स कर्मचारीहरुका अनुसार आज ३० यूनिट गाडी नक्सालबाट डेलिभरी दिन तयार गरिएको छ ।

एमजीसँगै बीवाइडीको शोरुममा पनि गाडी डेलिभरी लिने मानिस आइसकेका थिए । बीवाइडीले पनि आज ३० यूनिट हाराहारी गाडी नक्सालबाटै डेलिभरी दिने योजना बनाएको छ ।

नक्सालमा रहेको सुजुकी शोरुमले पनि १०/१२ यूनिट गाडी डेलिभरीको लागि तयार गरेको जनाएको छ । टाटाको थापाथली शोरुममा पनि गाडी डेलिभरी दिन कर्मचारीहरु दौडधुपमा देखिन्छन् । हुन्डाईमा पनि ग्राहकहरु गाडी लिन आइपुेको र कर्मचारीहरु गाडी तयार गर्न जुटेको देख्न सकिन्थ्यो ।

महिन्द्रा, निसान, सिट्रोन, ग्रेटवाल लगायत ब्राण्डका गाडी बिक्री गर्ने कम्पनीहरुले पनि आज अघिपछिको तुलनामा धेरै गाडी ग्राहकलाई डेलिभरी दिदैछन् ।

विशेषत दशैंमा नयाँ गाडी किन्ने र त्यसमा चढेर घुम्न जानेहरुले डेलिभरी लिने गर्छन् । साथै, घटस्थापनालाई दशैंको विशेष दिनको रुपमा मनाउने गरिएकै कारण यस दिन डेलिभरी लिने मानिस धेरै भएका हुन् ।


Back_to_top