काठमाडौं । इटालियन-अमेरिकी अटोमोवाइल कम्पनी स्टेलान्टीस ग्रुपले चिनियाँ इलेक्ट्रीक स्टार्टअप अटोमोवाइल कम्पनी लिप मोटरमा लगानी गर्ने भएको छ । कम्पनीले लिप मोटर्सको प्लेटफर्म प्रयोग गर्ने अनुमतिको लागि लगानी गरेको हो ।
लिपमा लगानी गरेसँगै स्टेलान्टीसले लिप मोटर्सको ‘इलेक्ट्रीक प्लेटफर्म ई-आरईभी लिप ३.०’को लाइसेन्स समेत पाउने छ ।
लिप मोटर टेक्नलोजीले जुलाईमा नयाँ ईभी प्लेटफर्म लन्च गरको थियो । लिप ३.० नाम दिएको यो प्लेटफर्मबाट ब्याट्री इलेक्ट्रीक भेहिकल र एक्टेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल बनाउन सकिन्छ ।
लिप मोटर्सको स्टेलान्टीससहित फक्सवागेन ग्रुपसँग पनि पार्टनरसिपका लागि बार्ता भइरहेको छ । यसअघि नै फक्सवागेन चाइनको ब्राण्ड जेटाको लागि लिप मोटरको प्लेटफर्म प्रयोग गर्ने खवरहरु वाहिर आएको थियो ।
स्टेलान्टीसले चीनमा त्यति राम्रो पर्फमेन्स देखाउन सकेको छैन । गत वर्षको जुलाईमा ग्रुपले जीप ब्राण्डलाई चिनियाँ बजारबाट निकाल्दै त्यहाँ रहेको एक मात्र फ्याक्ट्रीसमेत बन्द गरेको थियो ।
घाटामा रहेको उक्त प्लान्ट जीएसी ग्रुप र फियाट क्राइस्लरको संयुक्त लगानीमा स्थापना भएको थियो । सन् २०२१ मा उक्त प्लान्टबाट वार्षिक क्षमताको ६ प्रतिशत करिब २० हजारवटा मात्र उत्पादन भएको थियो ।


