काठमाडौं । अर्थतन्त्रमा संकुचन आएसँगै ओरालो लागेको मोटरसाइकल बजारले अझै गति लिन सकेको छैन । त्यसमा पनि रिकन्डिसन हाउसहरुले १० दिनमा पनि एउटा मोटरसाइकल बेच्न हम्मेहम्मे परेको ब्यवसायीहरु बताउन थालेका छन् ।
कति ब्यवसायीहरु अहिले मोटरसाइकल खोज्ने मानिस नै नहुँदा लगानी फसेको बताउँछन् । सुरुमा बजार मूल्यभन्दा केही सस्तोमा पाएर मोटरसाइकल किनेपनि त्यसलाई बिक्री गर्न नसक्दा लगानी डुब्ने अवस्था आएको उनिहरुको गुनासो छ ।
‘हामीले सुरुमा सस्तो भनेर किनेको मोटरसाइकल अहिले बेच्नै नसेकर थन्केको छ । ब्याज तिर्नु पर्ने, ग्राहकले आफुले किनेको भन्दा कम मूल्यमा पाए किन्छु भन्ने गरेका छन् । हामीले ब्यापार गरेको १५ वर्ष भयो । यति सस्तो मूल्यमा रिकन्डिसन बजार कहिल्यै देखेको थिएन’, नारायणटारमा रिकन्डिसन ब्यापार गर्दै आएका सुजन खड्काले भने ।
खड्काको जस्तो भोगाई अन्य बिक्रेताको पनि छ । चाडपर्वको समयमा धेरै सवारी साधन बिक्री हुने गर्छ । तर, यो वर्ष दशैं मुखैमा आइपुग्दासम्म रिकन्डिसन बजारमा मोटरसाइकल बिक्री हुन सकेन ।
नयाँ मोटरसाइकलको बिक्रीमा ब्यापक गिरावट आएसँगै रिकन्डिसन बजार पनि निकै कमजोर भएको हो ।
मध्ये बानेश्वरमा लामो समयदेखि पुराना मोटरसाइकलको ब्यापार गर्दै आएका मनिष अधिकारीले दशैंको बेलामा पनि शोरुम खोलेर बोहनी नै नहुने अवस्था आएको बताए ।
‘पहिला पहिला दशैंमा मोटरसाइकल किन्नेको घुइचो हुन्थो, अहिले त १० दिनमा १ यूनिट मोटरसाइकल पनि बेच्न गाह्रो भइसक्यो’ गणेश अटोको मनिषले भने ।
अहिले पसल खोल्ने र बन्द गर्ने मात्र काम भएको उनको भनाई छ ।
त्यस्तै भनाई नयाँ बजारमा रिकन्डिसन चलाउने दिनेश शाक्यको पनि छ । अहिले मोटरसाइकल किन्ने मान्छे नै नभएको जस्तो लाग्ने गरेको शाक्य बताउँछन् ।
‘मोटरसाइकल चढ्ने मान्छेजति सबै विदेश गएका कारण पनि मोटरसाइकल किन्ने मान्छे नभएको जस्तो लाग्छ । अहिले नयाँ मोटरसाइकल पनि नबिकेर कम्पनीहरुको अवस्था नाजुक छ,’ शाक्यले भने ।
उनका अनुसार पुरानो मोटरसाइकल बेच्ने र किन्ने दुबै ग्राहक नभएको उनको भनाई छ । पुरनो बेचेर नयाँ किन्ने मान्छे नभएका कारण रिकन्डिस बजार निरशाजनक भएको ब्यापारीहरु बताउँछन् ।
करिब १७ वर्षदेखिे सोल्टीमोडमा सेकेन्ड ह्यान्ड मोटरसाइकलको खरिद बिक्री गर्दै आएका रोशन श्रेष्ठका अनुसार लगभग ४०/५० हजारसम्म छुट दिँदा पनि मोटरसाइकल बेच्न नसकिएको बताए ।
बजारमा निकै सुस्थता आएको कारण नयाँ मोटरसाइकलको भन्दा धेरै रिकन्डिसन मार्केटमा समस्या देखिएको हो ।


