‘हन्टर ३५०’को मासिक किस्ता ११ हजार, यस्ता छन् चाहिने कागजपत्र

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटीभले फाइनान्समा मोटरसाइकल उपलब्ध गराउन सुरु गरेको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा बाँकी रकम कर्जा सुविधामा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा फाइनान्स सुविधा उपलब्ध गराएको हो । फाइनान्स सुविधासँगै रोयल इनफिल्ड मोटरसाइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर २४ महिनाको मासिक किस्तामा कुनैपनि मोटरसाइकल खरिद गर्न सक्ने छन् ।

अल्फा अटोमोटीभले हन्टर ३५०, क्लासीक ३५०को तीन भेरियन्ट र स्क्रयाम ४११ बिक्री गर्दै आएको छ ।

त्यस्तोमा रोयल इनफिल्डको हन्टर ३५० कर्जा दिएर किन्न चाहनेलाई लाग्ने डाउन पेमेन्ट, मासिक किस्ता र प्रक्रिया सुरु गर्न के कस्ता कागजात चाहिन्छ भन्ने बारे जानकारी दिन गइरहेको छौं ।

रोयल इनफिल्ड हन्टरको वेस भेरियन्ट ‘हन्टर रेट्रो’ लाई कम्पनीले ४ लाख ५९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । फाइनान्स स्कीममा हन्टर ३५० किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

मूल्यको ५० प्रतिशतले हुन आउने २ लाख २९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट, ५ हजार रुपैयाँ फाइनान्स चार्ज बाहेक पहिलो महिनाको किस्ता पनि सुरुमा नै बुझाउनु पर्ने कम्पनीको भनाइ छ । ग्राहकले मोटरसाइकल डेलिभरी लिनु अघि २ लाख ४५ हजार ७३७ रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

यस बाहेक बाँकी रकम २४ महिनासम्म मासिक रुपमा किस्तामा बुझाउनु पर्ने हुन्छ । कर्जामा १६ प्रतिशत ब्याज तिर्नु पर्ने कम्पनीले जनाएको छ । यसरी किन्दा मासिक किस्ता ११ हजार २३७ रुपैयाँ पर्नेछ ।

यी हुन् चाहिने कागजपत्र

फाइनान्समा मोटरसाइकल किन्ने ग्राहकले नागरिकताको फोटोकपी, सवारी चालक परिचय पत्रको फोटोकपी, पानी वा बिजुलीको वील र आयस्रोत खुल्ने कागजपत्र उपलब्ध गराउनु पर्ने हुन्छ ।

त्यस्तै, साक्षी बस्ने ब्यक्तिको नागरिकताको फोटोकपी, फोटो दुई प्रती, पानी वा बिजुलीको वील तथा आयश्रोत खुल्ने कागजपत्र सहित उपस्थित हुन पर्नेछ ।


Back_to_top