भारतको चर्चित अटो निर्माता कम्पनी टाटा मोट्र्सले २०२२ मा सार्वजनिक गर्ने भनेको क्रशओभर टाटा हर्नविल निर्धारित समय अगावै बजारमा आउने भएको छ ।
महिन्द्राको केयूभी–१०० र मारुती इग्निसको कडा प्रतिस्पर्धीको रुपमा लिइएको यो एसयूभी चाँडै नै बजारमा आउने भएको हो । यो माइक्रो एसयूबीलाई सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ ।
टाटा हर्नविल एक्स–४४९ अवधारणामा निर्माण हुने कम्पनीले जनाएको छ । टाटाले नेक्सनको बजार प्रभाव र सकारात्मक प्रतिक्रियापश्चात् हर्नविल सार्वजनिक गर्ने सोच बनाएको जनाएको छ । कम्पनीले भारतीय नागरिकमा ह्याचब्याकप्रतिको आकर्षण बढ्दै गएको जनाउँदै सोही मागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ योजना ल्याएको बताउँदैआएको छ ।
भारतीय अटोबजारमा सबैभन्दा बढी ह्याचब्याक मोडलका कार बिक्ने गरेको छ । सँगै, एसयूभी मोडलको बजार विस्तार हँुदै गएको छ । दुबैको विशेषता समेटिएको क्रशओभरले स्मल कारको बजारमा राम्रो बजार लिनसक्ने कम्पनीको बुझाई छ ।
मोडूलर प्लाटफर्ममा आधारित हर्नविल टाटा नेक्सानभन्दा पनि सानो आकारको कार हो । हर्नविलमा १.२ लिटर पेट्रोल इञ्जिन दिइने छ ।
साथै, इन्जिनमा म्यानूअल र अटोमेटेड म्यानूअल ट्रान्समिसन लगइने कम्पनीले जनाएको छ । यसको न्यूनतम मूल्य ५ देखि सुरु हुने र अधिकतम् मूल्य ९ लाखसम्म पर्ने अनुमान गरिएको छ ।


