काठमाडौं। सेरेस ईभीको दोस्रो शोरुम संचालनमा आएको छ । नेपालका लागि सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बिहीबारदेखि ललितपुरको थसीखेलमा आफ्नो दोस्रो शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले यसअघि काठमाडौंको पानीपोखरीमा पहिलो शोरुम संचालनमा ल्याएको थियो । नाडा अटो शो २०२३ मा सार्वजनकि भएको सेरेस ईभीले शोरुम विस्तारको काम अघि बढाएको हो ।
कम्पनीले चाँडै नै अन्य दुई वटा शोरुम संचालनको तयारी गरिरहेको जनाएको छ। जसमा उपत्यका बाहिर पोखरामा समेत शोरुम विस्तारको काम अन्तिम चरणमा रहेको कम्पनीका बिजनेस हेड प्रसन्न पन्तले जानकारी दिए ।
उनले सेरेस ब्रान्डको गाडीहरू अर्को हप्ताबाट ग्राहकलाई डेलिभरी दिने बताए । ‘हामीले नाडामा बुकिङ भएका गाडीहरू अर्को हप्ताबाट ग्राहकलाई दिने तयारी गरेका छौं,’ पन्तले भने ।
कम्पनीले नाडा शोमा ३०० यूनिटभन्दा धेरै सेरेस मिनी र सेरेस-३ एसयूभी बुकिङ लिएको थियो । कम्पनीले अर्को सातादेखि बुकिङ भएका ईभीहरू डेलिभरी सुरू गर्ने भएको हो ।
नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ ।
सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ,५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, सेरेस तीन भेरियन्टमा उपलब्ध हुने सेरेर मिनीको मूल्य १३ लाख ९९ हजारदेखि १७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।

