हाइवेमा इलेक्ट्रीक कार चलाउनेले भोग्नुपर्ने ४ डर

काठमाडौं । यदि तपाईं सहरी क्षेत्रमा बस्नुहुन्छ र सहरी क्षेत्रमा मात्रै ईभीमा यात्रा गर्नुहुन्छ भने तपाईंले डररहित यात्रा गर्न पाउनु हुन्छ । तर, तपाईं ३०० किलोमिटर माथिको हाइवे यात्रा गर्दै हुनुहुन्छ भने तपाईंको मनमा केही डर गडेर बस्ने गर्छ ।

ईभीमा चालकले सबैभन्दा धेरै भोग्नु पर्ने डर रेन्जको हो । रेन्जका अलावा चार्जिङ नेटवर्क र त्यहाँ खर्च गर्नुपर्ने समयको चिन्ता पनि चालकलाई परिरहेको हुन्छ । ईभी चलाउन सजिलो, वातावरण मैत्री, संचालन खर्च कम हुनुका बाबजूद हाइवे यात्रामा धेरै जसो चालकलाई चिन्तित बनाउने गरेको पाइन्छ ।

सामान्यतया चालकले हाइवेमा ईभी चलाउँदा भोग्ने डरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तर, त्यसलाई सहज लिएर योजनाबद्ध यात्रा गर्नेलाई भने यहाँ उल्लेख भएका कुराले खासै फरक नपार्न सक्छ ।

१. इन्फर्मेशन डिस्प्लेमा निरन्तर आँखा :  ईभी चलाउने चालकले बारम्बार हेर्ने स्थान भनेकै इन्फर्मेशन डिस्प्ले हो । त्यसमा पनि गाडीको रिमेनिङ रेन्ज कति बाँकी छ भन्ने कुराले चालकलाई बारम्बार सताउँछ ।

यदि कुनै पनि चालकले ईभी लिएर उकालो बाटो यात्रा गरिरहेको छ भने उसलाई ईभीले उकुसमुकुस नै बनाउने छ । राम्रोभन्दा राम्रो रेन्ज दाबी गरिएका गाडी पनि उकालोमा प्रतिकिलोमिटर १ प्रतिशत ब्याट्री खपत गर्छ । यस्तोमा गाडीले कुल १०० किलोमिटर मात्रै रेन्ज दिने चिन्ता चालकमा भइरहन्छ । त्यसैले त ईभी चलाउँदा ‘रेन्ज इन्जाइटी’ हुन्छ भनिएको हो ।

२. कुन स्थानमा गएर चार्ज गर्ने : ईभी लिएर यात्रा गर्दा गर्नुपर्ने पहिलो काम नै रुट म्याप हो । सकभर उकालो बाटो छल्ने र चार्जिङ नेटवर्क एकीन गरेर यात्रा सुरू गर्ने गर्नु पर्छ । सकभर गाडीमा २० प्रतिशत चार्ज बाँकी रहँदै चार्जिङ गर्ने स्टेशन एकीन गर्न सक्नुपर्छ । यसरी योजना बनाएको खण्डमा समस्या हुँदैन । तर, जहाँ पुगिन्छ, त्यहीँ खोजौंला भन्ने चालकले भने दुःख पाउने निश्चित छ ।

३. कति समय कुर्नु पर्ला : नेपालमा सीमित स्थानमा मात्रै चार्जिङ पूर्वाधर हुनु र चार्जिङ पूर्वाधारको तुलनामा गाडीको संख्या धेरै हुँदा दिउँसोको समयमा लाइन बस्नुपर्ने हुन्छ । यस वर्षको दशैंमा नै ८ देखि १० घन्टासम्म मानिस लाइनमा बसेर ईभी चार्ज गरेका कुरा हामीले देखेकै थियौं । त्यसैले आफ्नो गाडीले भनेको समयमा चार्ज गर्न पाउँछ वा पाउँदैन भन्ने चिन्ता सधैं चालकमा रहिरहन्छ ।

४. तल्लो भागमा छोएको खण्डमा के भयो होला ? : नेपालको बाटो कस्ता छन् भन्ने विषयमा केही भन्नै पर्दैन । हाइवेमा दौडँदा दौडदै नै अचानक खाडल आउँछ । कहिलेकाहीँ सडकको बीचमा नै ढुङ्गा भेटिन्छन् । यस्तामा अचानक आउने समस्या कन्ट्रोलमा लिन नसक्ने अवस्था आउन सक्छ ।

साथै, धेरै कच्ची बाटो उपत्यका वरपर नै छन् । त्यहाँ यात्रा गर्दा कथमकदाचित गाडीको तल्लो भाग छोइएमा चालकलाई धेरै नै मनोवैज्ञानिक असर गर्छ । किन भने ईभीको ब्याट्री नै तल्लो भागमा राखिएको हुन्छ ।

 


Back_to_top