डल्फीन भर्सेज नेटा भीः मूल्यमा थोरै फरक, फिचरमा कति ?

काठमाडौं । नेपाली बजारमा प्रिमियम ह्याचव्याक इलेक्ट्रीक कार सेग्मेन्टमा बीवाइडी डल्फीन र नेटाभी बीच प्रतिस्पर्धा चलिरहेको छ । दुबै चिनियाँ ब्राण्डका उत्पादन फिचर र टेक्नोलोजीका हिसावले राम्रा छन् ।

यी दुबै मोडल मूल्य र साइजमा पनि करिब समान छन् । फरक भनेको नेटा भी अघिल्लो वर्षदेखि सिजी मोटर्सले बिक्री गर्दै आएको मोडल हो । डल्फीन भने साइमेक्स इंकले भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको थियो ।

झट्ट हेर्दा मिनी टेस्ला जस्तै देखिने नेटा भी क्रसओभर डिजाइनमा देखिन्छ । तर, बीवाइडी डल्फीन भने पूर्णतया ह्याचव्याक कार हो । विशेषगरी मूल्य लगभग उस्तै भएका यी दुई इलेक्ट्रीक कार बीच रहेका भिन्नता यस प्रकार छन् ।

साइज

कारको साइज अहिले सबैको चासो हुन्छ । धेरै यात्रा गर्नु पर्ने, थोरै स्थानमा पार्किङ गर्नु पर्ने जस्ता कारण पनि कारको साइजलाई विशेष ध्यान दिने गरिन्छ । तुलनात्मक रुपमा नेटा भीभन्दा ठूलो साइजमा डल्फीन उपलब्ध छ ।

बीवाइडी डल्फीनको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम, उचाई १५७० एमएम छ । यसमा २७०० एमएमको ह्वीलवेस छ । तर, नेटाभीको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएम छ । ह्वीलवेस पनि नेटा भीमा निकै छोटो छ । यसमा २४२० एमएम ह्वीलवेस छ ।

नेटा भीमा १६० एमएमको ग्राउण्ड क्लियरेन्स छ । त्यसलाई बढाएर कम्पनीले १७० एमएम बनाएको छ । बीवाइडी डल्फीनमा भने १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । बुट स्पेशमा पनि डल्फीन केही ठूलो छ । डल्फीनमा ३४५ लिटरको बुटस्पेश छ भने नेटा भीमा ३३५ लिटरको बूट स्पेश छ ।

क्याविन फिचर

नेटाभीमा मूख्य आकर्षणको रुपमा ड्यासबोर्डमा रहेको ठूलो १४.६ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले हो । यो टचस्कृन डिस्प्लेबाट कारको सम्पूण फङ्सन कन्ट्रोल गर्न सकिन्छ ।

भविष्य उन्मुख डिजाइनमा बनेको नेटा भीमा एसी तथा म्यूजिक कन्ट्रोलका लागि कुनै फिजिकल सुइच छैन । यसमा गियर सेलेक्टर पनि स्टेरिङ कोलममा दिएको छ ।

चालकको लागि आवश्यक सूचनाको लागि १२ इन्च लामो होरिजेन्टल डिस्प्ले दिइएको छ । किलेस इन्ट्री रहेको नेटा भीमा स्टार्ट–स्टपको सुइच समेत छैन । गाडीमा साँचो राख्ने वित्तिकै गाडी आफैँ अन हुन्छ ।

नेटा भीमा एन ९५ एयर फिल्टर, सेन्टर लक, क्रुज कन्ट्रोल, रियर भ्यू क्यामरा, पावर विण्डो, इलेक्ट्रीक ओआरभीएम जस्ता फिचर छन् । सुरक्षाका लागि कारमा आगाडि दुबैतर्फ एयरब्याग, इबीडी सहितको एबीएस, हिल स्टार्ट असिस्ट, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ पाउन सकिन्छ ।

ओसियन अस्थेटिक डिजाइन कन्सेप्टमा बनेको डल्फिन १२.८ इन्चको रोटरी टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ । ड्राइभर इन्फर्मेसनका लागि छुट्टै ५ इन्चको अर्को डिस्प्ले छ । निकै प्रिमियम इन्टेरियर रहेको डल्फिनमा लेदरेट सिट कभरसहितको स्पोर्टी डिजाइनको सिट छ ।

एसी तथा म्यूजीक सिस्टमका लागि फिजीकल सुइच रहेको छन् । सेन्टर कन्सोलमा मोवाइलको लागि स्पेश छ । ६ वटा स्पीकर, ६ वटा एयरव्याग, एबीएस, इबीडी, इएससी, ट्रयाक्सन कन्ट्रोल, रियर भ्यू क्यामरा जस्ता फिचर छन् ।

बीवाइडीले डल्फीनमा ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, हाइबिम असिस्ट, व्लाइण्ड स्पर्ट डिटेक्सन, अडाप्टीभ क्रूज कन्ट्रोल जस्ता अत्याधुनिक फिचरको साथ एडास सेफ्टी फिचर प्रदान गरेको छ । त्यहि कारण यसले अष्ट्रेलियन एनक्यापबाट क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएको छ ।

मोटर तथा व्याट्री

बीवाइडीको डल्फिन तथा नेटाभी दुबैमा ७० किलोवाटको मोटर छन् । नेटा भीको मोटरले १६० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसले ७.९ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रति घण्टाको स्पीड भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता १२० किलोमिटर प्रतिघण्टा छ ।

डल्फिनमा रहेको मोटरले १८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । डल्फिनलाई सून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड पुग्न ९ सेकेन्ड लाग्छ । साथै, यसको टपस्पीड क्षमता भने १५० किलोमिटर प्रतिघण्टासम्म छ ।

नेटाभीमा सीएटीएलले बनाएको ३८.५४ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री छ । यसमा लिक्वीड कुलीङ सिस्टम सहितको एचइपीटी ३.० थर्मोस्ट्याटीक ब्याट्री मेनेटमेन्ट सिस्टम रहेको छ । कम्पनीको दावी मान्ने हो भने नेटा भीले सिंगल चार्जमा ३८० किलोमिटर रेन्ज दिन्छ । यो कारसँग ६.६ किलोवाटको होम चार्जर आउछ ।

डल्फिनमा बीवाइडीले आफैँ बनाएको अत्याधुनिक ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री छ । कम्पनीका अनुसार यो कारको रेन्ज एक पटकको फुल चार्जमा ३४० किलोमिटरसम्म छ । यो कारसँग ३ किलोवाटको होम चार्जर उपलब्ध हुनेछ ।

मूल्य

नेटाभीको मूल्य ३८ लाख ९९ हजार तोकेर बिक्री हुादै आएको छ । कम्पनीले नेटा भी अहिले किन्नेलाई ‘दशै तिहार लक्षीत डिक्की फुल अफर’ दिइरहेको छ । नेटा भीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म ब्याट्री तथा मोटरमा वारेन्टी छ ।

त्यस्तै बीवाइडी डल्फिनको मूल्य ३९ लाख ८० हजार तोकिएको छ । कम्पनीले उक्त मूल्यमा कुनै छुट तथा अफर ल्याएको छैन । डल्फिनमा १ लाख ६० हजार वा ८ वर्षसम्मका लागि ब्याट्री तथा गाडीमा वारेन्टी छ ।


Back_to_top