काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मिड साइज मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ ।
अटोमोवाइल न्यूज पोर्टल अटोकारका अनुसार कम्पनीले इटालीको मिलानमा हुने इक्मा अटो शोमा पर्फमेन्स इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट देखाउन लागेको हो ।
रोयल इनफिल्डले गत वर्ष स्पेनी कम्पनी स्टार्क अधिग्रहण गरेको थियो । त्यहि स्टार्क मोटरसाइकलको प्लेटर्फममा रोयल इनफिल्डको इलेक्ट्रीक कन्सेप्ट बनाएको अनुमान रिपोर्टमा गरिएको छ ।
रोयल इनफिल्डका उच्च कर्मचारीले स्टार्क मोटरसाइकलमा आधारित इलेक्ट्रीक मोटरसाइकलको विकास भइरहेको पुष्टि गरेका छन् । यसको आधारमा कम्पनीले इक्मा अटो शो २०२३ मा इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गर्ने अनुमान गरिएको हो ।
रोयल इनफिल्डले स्टार्क भर्ग इलेक्ट्रीक डर्ट बाइकको अवधारणामा नयाँ मोटरसाइकल ल्याउन काम गरिरहेको हुन सक्नेछ ।
रोयल इनफिल्डले ईभी विकासका लागि १ हजार ५०० करोडभन्दा धेरै रकम लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । कम्पनीको ईभी प्रोजेक्ट उमेश कृष्णप्पा र डुकाटीका पुर्व कर्मचारी मारियो अल्विसीले हेर्दै आएका छन् ।


