रोयल इनफिल्डले देखायो हिमालयन ४५० र पहिलो इलेक्ट्रीक कन्सेप्ट

काठमाडौं । रोयल इनफिल्डले इटालीमा हिमालयन ४५० र आफ्नो पहिलो इलेक्ट्रीक प्रोटोटाइप प्रदर्शन गरेको छ । कम्पनीले इटालीको मिलानमा सुरु भएको इक्मा अटो शो २०२३ को मिडिया डेमा इलेक्ट्रीक प्रोटोटाइप सार्वजनिक गरेको हो ।

त्यस्तै कम्पनीले भारतमा सार्वजनिक हुने तयारीमा रहेको अल न्यू हिमालनय ४५० समेत प्रदर्शन गरेको हो । हिमालयन ४५० भारतमा नोभेम्वर २४ मा हुने मोटोभर्स इभेन्टमा सार्वजनिक हुनेछ ।

रोयल इनफिल्डले प्रदर्शन गरेको इलेक्ट्रीक प्रोटोटाइपको कुनै टेक्नीकल विवरण बाहिर ल्याएको छैन । प्रोटोटाइप पनि नयाँ हिमालयन ४५० को डिजाइनबाट प्रेरित जस्तो देखिन्छ ।

रोयल इनफिल्डले इलेक्ट्रीक प्रोटोटाइपका लागि १८ महिनादेखि काम गरिरहेको बताएको थियाे । कम्पनीले देखाएको प्रोटोटाइप भविष्यमा प्राेडक्सनसम्म आइपुग्दा यसको डिजाइन के हुन्छ भन्न सकिदैन ।

कम्पनीले सार्वजनिक गरेको हिमालयन ४५० को सबै विवरण बाहिर आइसकेको छ । कम्पनीले यसको मूल्य भने हालसम्म सार्वजनिक गरेको छैन ।

नयाँ प्लेटर्फमको इन्जिन प्रयोग भएको रोयल इनफिल्ड हिमालयनमा पहिलो लिक्वीड कुल्ड इन्जिन छ । कम्पनीले यो प्लेटफर्मलाई शेर्पा नाम दिएको छ ।

हिमालयनमा ४५२ सीसी सिंगल सिलिन्डर फोर भल्भ, डिओएचसी सेटअपमा तयार पारिएको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा अधिकतम ४० पीएस पावर र ५५०० आरपीएममा ४० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा कम्पनीले स्लीपर असिस्ट क्लच, युएसडी फर्क, राइड वाइ वायर तथा ६ स्पीडको गियरबक्स दिएकाे छ ।


Back_to_top