काठमाडौं । भारतीय बजारमा बिक्रीको आधारमा टाटा नेक्सनले नयाँ रेकर्ड बनाएको छ । पेट्रोलियम पदार्थ र इलेक्ट्रीक दुबै भर्सनमा पाइने नेक्सन गत अक्टोबर २०२३ मा १६ हजार ८८७ यूनिट बिक्री गर्दै सन् २०१७ देखिनै एकै महिनामा धेरै बिक्री भएर रेकर्ड बनाएको हो ।
टाटा मोटर्सले गत सेप्टेम्बरमा भारतीय बजारमा नेक्सनको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको थियो । कम्पनीले झण्डै ३ वर्षपछि नेक्सनको नयाँ जेनेरेशन मोडल ल्याएसँगै बिक्रीमा पनि उछाल आएको हो ।
हुनत यसलाई टाटाले फेसलिफ्ट मोडल भनेको छ । तर, पेट्रोलियम पदार्थबाट चल्नेको इन्जिन र ईभीबाट चल्नेको ब्याट्री तथा मोटरबाहेक अन्य अधिकांश फिचर नयाँ प्रयोग भएको छ । नेक्सनको बडी डिजाइन पनि पूर्णत नयाँ भएर आएको हो ।
अक्टोबर महिनामा भारतमा सर्वाधिक बिक्री भएको एसयूभीको ताज पनि नेक्सनले सुरक्षीत गरेको छ । नेक्सनलाई मारुती सुजुकी ब्रेजाले पच्छाएको थियो । अक्टोबरमा सुजुकी ब्रेजा १६ हजार ५० यूनिट बिक्री भएको होे ।
टाटाको नयाँ नेक्सन नेपाल भने २०२४ मा मात्रै आउने सिप्रदी ट्रेडिङको भनाइ छ । कम्पनीले २०२४ को पहिलो क्वाटरमा नयाँ नेक्सन ईभी र पेट्रोल सार्वजनिक गर्नेछ ।

