काठमाडौं । चीनमा विद्युतीय साधन उत्पादन गर्ने स्टार्टअप कम्पनीको संख्या १०० औं छन् । उनिहरु मध्ये राम्रो गरिरहेका केही कम्पनीमा अन्तर्राष्ट्रिय लगानीकर्ताको आँखा पर्दै आएको छ ।
सन् २०२३ मा मात्रै थुप्रै कम्पनीहरुमा विदेशी लगानी आएको छ । यसरी लगानी गर्नेमा स्थापित अटोमोवाइल ब्राण्डदेखि पेट्रोलयम पदार्थ उत्पादकसम्म छन् । सन् २०२३ को ९ महिनामा नै ६५ लाख यूनिट पूर्ण इलेक्ट्रीक कार बिक्री भइसकेपछि सबैको ध्यान त्यता जानु स्वभाविक हो ।
यहि दौडमा विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ उत्पादक देश साउदी अरब पनि अघि बढेको छ । साउदीले अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी लुसिडमा सन् २०१९ मै १ बिलियन डलर लगानी गरेको थियो ।
अहिले फेरि उसले तेल बाहेकको क्षेत्रमा लगानी विविधिकरण गर्ने नीति अनुसार चिनियाँ प्रिमियम इलेक्ट्रीक भेहिकल कम्पनी ह्युमन होराइजनमा २५० मिलियन डलर लगानी गर्ने भएको हो । गत जुनमा साउदी अरबको मिनीस्ट्री अफ इन्भेस्टमेन्टले ह्युमन होराइजनमा ५.६ बिलियन डलरसम्म लगानी गर्ने संझौता गरेको थियो ।

चीनको संघाइमा रहेको ह्युमन होराइजन कम्पनीले लग्जरी ईभी ‘हाइफी’ ब्राण्डको प्योर इभी निर्माण गर्छ । कम्पनीको हालको भ्यालुयसन ३ बिलियन डलर रहेको छ । ह्युमन होराइजनले आगामी ग्रोथको लागि १ बिलीयन डलर बरावरको प्राइभेट इन्भेस्टर जुटाउने बताएको छ ।
चाइनाको ईभी ब्राण्डमा अन्य स्थापित युरोपियन ब्राण्डले पनि लगानी गरिरहेका छन् । गत जुलाइमा जर्मन अटोमोवाइल कम्पनी फक्सवागेनले चाइनाको अर्को स्टार्टअप इभी कम्पनी एक्सपेङमा ४.९९ प्रतिशत शेयरहोल्डीङमा ७०० मिलियन डलर लगानी गर्ने सम्झौता गरेको थियो ।
त्यस्तै, गत अक्टुबर २६ मा स्टेलान्टीस ग्रुपले अर्को ईभी स्टार्टअप लिप मोटरमा २० प्रतिशत शेयरको लागि १.५८ बिलियन डलर लगानी गर्ने सम्झौता गरेको छ । लिप मोटर र स्टेलान्टीस ग्रुपले ‘लिप मोटर इन्टरनेसनल’ नाममा जोयन्ट भेन्चर कम्पनी स्थापना गरी विश्व बजारमा लिप मोटरका उत्पादन लैजाने लक्ष्य राखेको छ ।

हुनत चिनियाँ इलेक्ट्रीक ब्राण्डमा सन् २००८ मै अमेरिकी प्रख्यात इन्भेस्टर वारेन्ट बफेटको इन्भेस्टमेन्ट कम्पनी बर्कसाय हाथवेले २३२ मिलियन डलर लगानी गरेको थिए ।
हङकङ स्टक एक्सचेन्जमा लिस्टेड बीवाइडीको सेयर हाथवेसँग २१ प्रतिशत थियो । जसको भ्यालुएसन सन् २०२१ मै ७ बिलियन डलरको भएको थियो । पछि हाथवेले ११ प्रतिशत शेयर लिक्वीडेड गरी १० प्रतिशत मात्र शेयर होल्डीङ गरेको छ ।

