काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा २ हजार ६९ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा केबल २ हजार ६९ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कारहरु आयात भएका हुन् ।
यो पाँच महिनाको अवधिमा सबैभन्दा धेरै १००० देखि १५०० सीसी क्षमताका कारहरु आयात भएको देखिन्छ । यस अवधिमा १ हजार ३१८ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएका हुन् ।
यस अवधिमा २ अर्ब ५२ करोड, २५ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएका छन् । यी कार आयात बापत सरकारले भन्सार बिन्दुमा नै ६ अर्ब ६५ करोड ४४ लाख ५६ हजार रुपैयाँ उठाएको छ ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कारमा ८० प्रतिशत भन्सार, ६० देखि १०५ प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र मूल्यको ८ देखि १० प्रतिशत सडक निर्माण दस्तुर भन्सार विन्दुमा नै उठाउँदै आएको छ ।
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने कारहरु भारत, चीन, कोरिया, इन्डोनेशिया, स्पेन, जर्मनी, जापान, चेक रिपब्लिक, मेक्सीको, अमेरिका लगायतका देशबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

