नेपाली कार बजारः झण्डै १० हजार कार आयात हुँदा एसयूभी सेग्मेन्ट ७१% माथि

काठमाडौं । नेपाली कार बजारमा एकाएक ठूलो परिवर्तन देखिएको छ । एक वर्षमा नै एसयूभीको बजार हिस्सा तिब्र बिस्तार हुँदा ह्याचव्याक खुम्चेको देखिन्छ ।

ट्याक्सीमा सेडान कारको प्रयोग सुरु भएसँगै सेडान सेग्मेन्टको आयात बढेको तथ्यांकले देखाएको छ । सन् २०२३ हामीबाट विदा हुनै लागेको छ । यस्तोमा जनवरी १ तारिखदेखि डिसेम्बर १५ तारिखसम्म आयात भएका गाडीलाई आधार मानेर हामीले यो रिपोर्ट तयार गरेका छौं ।

सन् २०२३ मा सबैभन्दा बढी बजार हिस्सा सबफोर मिटर र कम्प्याक्ट एसयूभीले ओगटेको देखिन्छ । यो सेगमेन्टमा हामीले सबफोर मिटर एसयूभी, बीवाइडी एटो ३, एमजी जेडएस ईभीदेखि क्रेटा साइजमा आउने कम्प्याक्ट एसयूभी र बल्की साइजमा उपलब्ध स्कर्पियोसम्मका मोडललाई राखेका छौं ।

कम्प्याक्ट एसयूभी साइजमा ६ हजार ६४७ यूनिट गाडी आयात भएको छ । जुन सन् २०२३ मा नेपाल आएका ९ हजार ५७१ यूनिटको ६९.४५ प्रतिशत हो ।

त्यसैगरी प्रिमियम एसयूभी सेग्मेन्टमा आउने टोयोटा र्याभफोरदेखि हुन्डाई शान्ताफेसम्मका गाडीको आयात केबल १५२ यूनिट भएको छ । यसले १.५९ प्रतिशत बजार हिस्सा ओगटेको छ । विग साइज एसयूभी सेग्मेन्टमा ६० यूनिट गाडी आएको देखिन्छ ।

ह्याचव्याक सेग्मेन्टमा १ हजार ६०८ यूनिट कार आयात भएको छ । जुन कुल आयातको १६.८१ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा ह्याचव्याकको बजार निकै घटेको छ । अझ टाटा टियागो ईभी भदौ अन्तिममा आएको कारण यो बजार हिस्सा पुगेको हो ।

सेडान सेग्मेन्टमा भने थोरै वृद्धि देखिएको छ । विद्युतीय ट्याक्सीको प्रयोग बढ्न थालेसँगै सेडान सेग्मेन्टमा वृद्धि देखिएको हो । यस वर्ष १ हजार १०३ यूनिट सेडान कार आयात भएको छ । जुन कुल आयातको ११.५२ प्रतिशत हो ।


Back_to_top