कहाँबाट आयो इलेक्ट्रीक कारमा पुसमै कर बढाउने हल्ला ?

काठमाडौं । विद्युतीय कारमा कर वृद्धिको हल्ला अटोमोवाइल क्षेत्रमा अहिले गाइगुई सुनिन्छ । धेरैले पुस मसान्तमा नै कर वृद्धि गर्दैछ भन्ने हल्ला गरेका छन्, भने कोहि भने आगामी बजेट अगाडि कर परिवर्तन नहुने बताउँछन् ।

अर्थ मन्त्रालय भने यस विषयमा मौन छ । किन र कसरी एक्कासी कर वृद्धिको हल्ला फैलियो भन्ने विषयमा जाँदा अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा ईभीको आयात बढ्दा अटोमोवाइल क्षेत्रबाट आउने राजश्व कम भएको बताएका थिए । हो, यहिबाट आएको हो तत्काल कर बढाउने हल्ला ।

‘अर्थमन्त्रीले नै ईभीको आयात बढ्दा कर घटेको भनेर बेल्दा ब्यवसायीहरुले अनुमान लगाएका होलान् । तत्काल करका दर परिवर्तनका विषयमा मन्त्री ज्यूले आन्तरिक छलफल गरेको जानकारीमा छैन’, अर्थमन्त्रीको निजी सचिवालय स्रोतले भन्यो ।

उनका अनुसार विद्युतीय गाडी सरकारको अनुमानभन्दा धेरै आयात भएको र राजश्व संकलनमा पनि सहयोग नभएको कारण यसमा सबै तिर यसको चर्चा भएको हो । तर, तत्काल अर्थमन्त्रीले कुनै ठोस निर्णय लिएका छैनन् ।

स्कुटर जस्तो लाग्ने ३५० वाटभन्दा कम क्षमताका साइकलमा मंसिरमा कर लाग्ने ब्यवस्था अर्थमन्त्रालयले गरेसँगै ईभीको पनि कर बढ्ने हो कि भन्ने शंका ब्यवसायीहरुमा परेको देखिन्छ ।

‘मैले ब्यक्तिगत र संस्थागत रुपमा अर्थमन्त्रीसँग यस विषयमा कुरा गरेको छु । तत्काल कर नचलाउने विषयमा उहाँ प्रस्ट हुनुहुन्छ । पुसमा नै कर परिवर्तन हुन्छ भन्ने विषयमा सत्यता छैन जस्तो लाग्छ’ नाडा अध्यक्ष ध्रुब थापाले भने ।

बजारमा आफ्नै किसिमको पहल र चर्चा भएपनि गाडी आयातकर्ताले भने धेरैभन्दा धेरै ईभी ल्याइरहेका छन् । ग्राहकको रोजाई पनि ईभी हुनु र बैंक तथा वित्तिय संस्थाले पनि सहजै कर्जा दिने हुँदा ईभीको बिक्री निरन्तर वृद्धि भएको हो ।

राजश्वको दवाव अटोमोवाइल क्षेत्रलाई

सरकारले लक्ष्य अनुसार राजश्व उठाउन नसक्दा अटोमोवाइल क्षेत्रमा अर्थमन्त्रालयदेखि उसको सरोकारवाला निकाय भन्सार विभागसम्मले गाडी नेपाल भित्र्याउन दवाव दिएका छन् ।

भन्सार नाकामा रहेका पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरु तत्काल छुटाईदिन ब्यवसायीहरुलाई भन्सार विभागले आग्रह गरेको थियो । त्यसपछि नाडा अटोमोवाइल एशोशिएसन अफ नेपालको पदाधिकारीहरुले भन्सार विभागका महानिर्देशकलाई भेटेर तत्काल गाडी छुटाएर ल्याउन कठिन रहेको बताएका थिए ।

‘उहाँहरु गाडी छुटाई दिनुस् भन्नु हुन्छ । यहाँ छुटाएर ल्याएको गाडी बिक्री गर्न सक्ने अवस्था छैन । बैंकले सहज कर्जा दिएको छैन । बजारमा आर्थिक मन्दी जारी छ । त्यसमा पनि पेट्रोलियम पदार्थबाट चल्ने निजी र लाइट कमर्शियल गाडी बेच्नै कठिन अवस्था छ । हामीले यहि कुरा उहाँहरुलाई भेटेर भनेको छौं’, नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने ।

राजश्व उठाउने दवावमा अर्थमन्त्रालयदेखि माताहतका कार्यालय परेको र विद्युतीय गाडीको आयात राम्रो देखिएको कारण कर बढाउने चर्चा चलेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यथार्थ के हो भन्ने थाहापाउन भने अझै केही दिनु कुर्नु पर्नेछ ।


Back_to_top