काठमाडौं । विश्व बजारमा उपलब्ध सबै कार नेपाल आउँछन् भन्ने छैन । चीनमा विभिन्न कम्पनीले उत्पादन गर्ने कारहरुको चासो र चर्चा भने नेपालमा खुबै हुन थालेको छ ।
अहिले यहाँ बिक्री हुने अधिकांश विद्युतीय कार चीनबाट आयात हुन थालेका छन् । बीवाइडी, एमजी, चांगन, नेटा, ओरा जस्ता ब्राण्डका कारहरु चीनमा उत्पादन भएर आएका हुन् । यी ब्राण्डको बलियो उपस्थितिकै कारण नेपालमा विद्युतीय कारको मूल्यमा पनि प्रतिस्पर्धा भएको हो ।
चीनमा बनेका कार विश्वभर मूल्यकै कारण चर्चामा छन् । मुख्यत १० देखि १४ हजार डलर मूल्य हाराहारीमा चीनमा बिक्री भएका कारहरु यूरोप र अन्य एशियाली देशमा निर्यात पनि भइरहेका छन् । न्यू इनर्जी भेहिकल कै कारण चीनले जापानलाई पछि पार्दै विश्वकै धेरै कार निर्यात गर्ने देश बनेको छ ।
यस्तो किसिमको विश्व अटोमोवाइल बजारको परिदृष्यमा नेपालले पनि प्रतिक्षा गरेका केही सस्तो मूल्यका कारको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
१. बीवाइडीको चर्चित ह्याचव्याक सिगल चीनमा उत्कृष्ट ब्यापार गरिरहेको मोडल हो । चीनमा सार्वजनिक भएदेखि नै यसले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपालमा पनि बीवाइडीका उत्पादन निकै चर्चामा छन् ।

आधिकारीक बिक्रेता साइमेक्स इंकले अहिलेसम्म सिगल नेपाल ल्याउने वा नल्याउने विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । डल्फीनभन्दा निकै कम मूल्यमा आउन सक्ने सिगलमा ३० किलोवाट आवर र ३८ किलोवाट आवर गरी दुई ब्याट्री अप्सन दिइएको छ । यसमा मोटर भने ५५ किलोवाट क्षमताको छ ।
२. चीनमा ११ हजार डलर मूल्य तोकेर बिक्री सुरु भएको डोङफेङ मोटर्सको इलेक्ट्री ब्राण्डको नामी-०१ ह्याचव्याक पनि अहिले चीनमा चर्चा पाइरहेको मोडल हो । आकर्षक डिजाइन र फिचरको कारण यसको चर्चा बढिरहेको छ ।

नेपालमा डोङफेङका उत्पादन बिक्री हुँदै आएका छन् । तर, नामी ब्राण्ड कसले ल्याउँदैछ भन्ने एकिन भएको छैन । नामी-०१ मोडलमा ३१.४५ र ठूलो साइजको ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसमा ७० किलोवाटको मोटर छ ।
३. इन्डोनेशियामा उत्पादन हुने विलिङ विङ्गो चाँडै बजारमा आउने ह्याचव्याक कार हो । विलिङको आधिकारीक वितरक ईभी नेपाल मोटर्सले यसलाई बजारमा ल्याउने छ ।

निकै सार्प डिजाइनमा तयार भएको विलिङ विङ्गो ह्याचव्याकमा ३२ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको इलेक्ट्रीक मोटर जडान भएको छ ।
४. सिजी मोटर्सले नेपाल ल्याउने जीएसी एवोन वाई एक प्रिमियम ह्याचव्याक कार हो । नेपाली बजारमा पनि ४० लाख हाराहारी मूल्यमा आउने अनुमान गरिएको जीएसी एवोन वाईको विषयमा चर्चा सुरु भएको छ ।

एवोन वाई मोडलमा ५१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसमा ७० र ८० किलोवाट क्षमताका दुई फरक मोटर दिइएको छ ।
५. चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले बिक्री गर्दै आएको नेटा भीको फेसलिफ्ट मोडल ‘नेटा आय’ नामबाट चीनमा बिक्री सुरु भएको छ । यसको मूल्य पनि चीनमा राम्रो मानिन्छ ।

अहिले नेपालमा उपलब्ध नेटा भीमा ७० किलोवाट क्षमताको मोटर छ । तर, नयाँ भर्सनमा ४० र ७० किलोवाटको दुई अप्सन पाउन सकिन्छ । सायद चँडै सिजी मोटर्सले यसको नेपालमा बिक्री सुरु गर्नेछ । नयाँ नेटा भीमा ४० किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री रहने छ ।
६. चांगन लुमिन कोन इलेक्ट्रीक कार पनि नेपाल आउने सम्भावना भएको कार हो । साइजमा सानो भएपनि यसको फिनिसिङ र डिजाइनका कारण निकै चर्चा भइरहेको छ । चीनमा बिक्री हुँदै आएको यो ह्याचव्याकको मूल्य १० हजार डलरभन्दा कम छ ।

कम्पनीले यसलाई विभिन्न तीन ब्याट्री अप्सनमा चीनमा उपलब्ध गराएको छ । यसको टप भेरियन्टमा २८ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाटको मोटर उपलब्ध छ ।


