काठमाडौं । बढ्दो प्रतिस्पर्धा र विद्युतीय कारको माग उच्च बन्दा जापानी र यूरोपियन ब्राण्डलाई नेपालमा टिक्नै मुस्किल अवस्था सृजना भएको छ । कुनै समय एकदमै चर्चामा रहेका विश्व प्रशिद्ध अटोमोवाइल ब्राण्डहरु बिस्तारै गुमनाम हुँदै गएका छन् ।
नेपाली बजारमा धेरै लामो समय चर्चा र प्रसिद्धि कमाएका जापनीज, कोरियन, इण्डोनेसियन, मलेशियन र चिनियाँ ब्राण्डहरु अहिले निकै कठिन अवस्थाबाट गुज्रेका छन् ।
कोरियन ब्राण्ड साङयोङ, जापनीज ब्राण्ड सुवारु र माज्दा, मलेशियन ब्राण्ड प्रोटोन, चिनियाँ ब्राण्डको इन्डोनेशियन उत्पादन डिएफएसके जस्ता स्थापीत गाडीको बिक्रीमा ठूलो समस्या आइरहेको छ । यी ब्राण्डले कुनै पनि किसिमका गतिविधि संचालन गर्न सकेका छैनन् ।
सन् २०२० को डिसेम्बरदेखि सबैभन्दा ठूलो शेयर होल्डर महिन्द्रा एण्ड महिन्द्राले थप लगानी नगर्ने निर्णय गरेपछि साङयोङले फाइनान्सीयल कठिनाई भोगिरहेको छ । कहिले एडिसन मोटर्स त कहिले बीवाइडीसँग पार्टनसशिपको चर्चा चलेपनि त्यसले ठोस परिणाम दिएन । अन्तत सन् २०२२ मा कम्पनीले बैकरप्सी फाइल गरेको थियो ।
पछिल्लो समय साङयोङमा केजी ग्रुपले ६१ प्रतिशत शेयर खरिद गरेपछि कम्पनीको नाम नै परिवर्तन गरि केजी मोविलीटी राख्ने र केजी ब्राण्डमा नयाँ मोडल आउने चर्चा चलेको थियो ।
यसरी उत्पादक कम्पनीमै समस्या आएपछि नेपालको आधिकारीक वितरक आइएमएस मोटर्स पनि सानो शोरुम सहित सन् २०१९ र २० मा बनेका केहि मोडल राखेर बसेको छ । बिक्री भने ठप्पै छ ।
त्यस्तै पछिल्लो समय नेपाल आएको डीएफएसकेले पनि कुनै नयाँ मोडल ल्याउन सकेको छैन । सन् २०२१ को सुरुवातमा ग्लोरी आई अटोको लन्चपछि कुनै एक्टीभीटी डिएफएसकेको छैन । कुजु अटोमोवाइलले नेपालमा डीएफएसकेको ग्लोरी ५६०, ग्लोरी ५८० र ग्लोरी आई अटो ल्याएको थियो ।
बरु पछिल्लो वर्षहरुमा डीएफएसके ब्राण्डका कमर्शियल इलेक्ट्रिक भ्यानहरु दीगो ग्रुपले ल्याएको छ भने, डीएफएसकेको इलेक्ट्रिक कार ब्राण्ड सेरेसका उत्पादन एमएडब्लू वृद्धि अटोकर्पले ल्याइरहेको छ ।
नेपालको ठूलो ब्यवसायीक घराना मध्यको एक शंकर ग्रुपको जगदम्बा मोटर्सले ल्याएको मलेशियन ब्राण्ड प्रोटनको हालत पनि उस्तै छ । सुरुवाती दिनमा केही यूनिट गाडी बिक्री गरेको कम्पनी त्यसपछि चुपचाप भएको छ ।
प्रोटोन सागा सेडान, एक्स-५० र एक्स-७० एसयूभी नेपाल बिक्री गर्दै आएको कम्पनीले पछिल्ला दिनमा कुनै पनि गतिविधि गरेको छैन ।
जापानी ब्राण्ड सुवरु र माज्दाको अवस्था पनि त्यस्तै छ । हुनत नेपाल आएदेखि नै यी दुबै ब्राण्डले कुनै किसिमको हल्ला खल्ला गरेका छैनन् । चर्चा कम भएकै समयमा माज्दाले डिलर परिवर्तन गरेको थियो । नयाँ डिलर पारामाउन्ट मोटर्स बनेपनि पहिलेको भन्दा बढी चर्चा हुन सकेको छैन ।
त्यसैगरी, विजय मोटर्सले धेरै वर्षदेखि बिक्री गर्दै आएको अर्को जापनीज ब्राण्ड सुवरु पनि गुुमनाम नै छ । कम्पनीले नेपाली बजारमा फरेस्टर, आउटव्याक तथा क्रसट्रेक जस्ता एसयूभी मोडल बिक्रीको लागि राखेपनि बजारमा चर्चा र बिक्री दुबै कमजोर देखिन्छ ।
चिनियाँ ब्राण्ड चेरीको अवस्था पनि त्यस्तै नाजुक छ । त्यसैले कम्पनीले चेरीको ईभी ब्राण्ड ओमोडा नेपालमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । साथै, यही अवस्था ग्रेटवालको पनि छ । ग्रेटवालले हाभल र ओरा ब्राण्डको सहारामा आफुलाई टिकाइ राखेको छ ।

