काठमाडौं । आगामी मार्चमा बीवाइडीले नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘युवान अप’ नाममा ल्याउने नयाँ एसयूभी अटो-३ भन्दा तल मूल्य राखेर ल्याउन लागेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।
चीनको ‘न्यू इनर्जी भेहिकल’ कम्पनी बीवाइडीले ल्याउन लागेको नयाँ एसयूभीको फिचरहरु यसअघि नै सार्वजनिक भएका थिए । नयाँ एसयूभी ‘युवान अप’ पनि बीवाइडीले इ-प्लेटफर्म ३.० मा उत्पादन गर्नेछ । यसको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहने छ ।
कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलवेस दिनेछ । यसलाई कम्पनीले अप्सनल फिचरको रुपमा प्यानारोमिक सनरुफ र लगेज र्याक दिएर ल्याउने छ । सेमी हिडन डोर ह्याण्डल रहेको युवान अपमा १६ र १७ इन्चको ह्वील रहने छ ।
बीवाइडीले नयाँ एसयूभीलाई ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा ल्याउने छ । कम्पनीको सानो ब्याट्रीले ३०१ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ ।

त्यसैगरी यसमा रहने ठूलो ४५.१ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने सिएलटीसीको भनाइ छ । युवान अप मोड ब्याट्री जस्तै मोटर पनि दुई अप्सनमा उपलब्ध हुनेछ ।
अहिले डल्फीनमा रहेको जस्तै ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहने छ ।
वीवाइडीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको युवान प्रो (एटो-३) कै सिरिज भित्र आउने युवान अप पनि ग्लोबल मोडल हुने अनुमान गरिएको छ ।

