सफ्टवयर अपग्रेड नहुँदा भएन मोटरसाइकल दर्ता, बिना नम्बर प्लेटका बाइकको बिगबिगी

काठमाडौं । यातायात ब्यवस्था विभागले गत आइतवारबाटै प्रदेश नम्बर तीनमा प्रदेश संरचना अनुसार मोटरसाइकललगायतका सवारीसाधन दर्ता गर्ने तयारी गरेपनि सफ्टवयर अपग्रेडमा समय लाग्दा काम हुन सकिरहेको छैन ।

साबिकको बागमती अञ्चलमा टु ह्वीलर सवारीसाधनको लट दुई अंक (९९ लट) पुरा भएपछि विगत एक महिनादेखि सवारीसाधन दर्ता रोकिएर बसेको हो । अहिले विशेषगरेर उपत्यकामा ल्याइएका मोटरसाइकल नारायणी अञ्चल यातायात कार्यालयमा दर्ता गरेर ल्याइएका छन् । 

एक महिना अगाडिदेखि मोटरसाइकल किनेर बसेका ग्राहकले बागमती वा प्रदेश टुङ्गो लागेपछि नम्बर प्लेट लगाउँला भनेर बसेका छन् । त्यसले उपत्यकामा नम्बर प्लेट नभएका सवारीसाधनको बिगबिगी भएको छ । 

‘हामीले यो हप्ताबाट नयाँ ब्यवस्था अनुसार सवारीसाधन दर्ता गर्ने प्लानसहित काम गरेका थियौ तर, सफ्टवयर अपग्रेडको काम पुरा नहुँदा यो हप्ता दर्ता गर्न सकिएन’ सतुंगलस्थित मोटरसाइकल कार्यालय स्रोतले भन्यो । 

यातायात ब्यवस्था विभागका अनुसार सफ्टवयर अपग्रेडको काम पुरा नभएकाले यस हप्ता दर्ता हुन सकेन । संभवत आगामी आइतबारबाट दर्ता सुरु हुन्छ, विभाग स्रोतले भन्यो ।

सफ्टवयर निर्माण कम्पनी फोकसवानले सफ्टवयर अपग्रेडमा केहि टेक्नीकल समस्या देखिएकाले काममा केहि ढिलो भएको स्वीकार गरेको छ । फोकसवानका कोअडिनेटर ऋषि दाहाल भने ‘अहिले हामी आन्तरिक डेमो परिक्षणमा छौं, भोलिसम्ममा पूर्ण परिक्षणगरी विभागमा बुझाउने तयारी गरिरहेका छौ ।’

‘हाम्रो प्रयास आइतबारबाट पूर्णरुपमा दर्ताको काम होस् भन्ने हो र हामी भोलि शुक्रबारसम्म काम पुरा गर्छौ’ दाहालले मेरोअटोसँग भने । 

सम्बन्धीत सरोकारवाला निकायसँगको कुराकानीलाई आधारमान्दा यातायात व्यवस्था विभागले सफ्टवयर सप्लायर्स कम्पनीलाई समयसिमा भित्र काम गर्न लगाउन नसक्दा समस्या समाधन हुन सकेको छैन । संभवत आगामी आइतबारबाट सवारीसाधन दर्ता खुल्ला हुने देखिन्छ । 


Back_to_top