काठमाडौं । नेपाली अटो बजारमा आधा दर्जन ब्राण्ड थपिने भएका छन् । नयाँ आउने अधिकांश ब्राण्ड चीनबाट आउन लागेका हुन् ।
अहिले नै करिब एक दर्जन चिनियाँ ब्राण्ड नेपाली बजारमा उपलब्ध छन् । अबको केही महिना भित्रै आधा दर्जन ब्राण्ड नेपाल आउने क्रममा छन् । यी सबै ब्राण्डको लक्ष्य नेपालमा विद्युतीय कार बिक्री गर्नु हो ।
सर्भिस र चार्जिङ नेटवर्क बिना नै अधिकांश चिनियाँ ब्राण्डले नेपाली बजारमा परीक्षण गरिरहेका छन् । नयाँ आउन लागेका ब्राण्डले पूर्वाधारमा तयारी गरिरहेको बताएका छन् ।
चेरीको सहायक ब्राण्ड ओमोडाको पहिलो उत्पादन ई-५ ईभी नेपाल आइपुगेको छ । कम्पनीले फेब्रुअरी अन्तिमसम्ममा यसको नेपालमा आधिकारिक बिक्री सुरू हुँदैछ । चेरीको सहायक ब्राण्ड भए पनि ओमोडा नेपालको लागि नयाँ ब्राण्ड हो । कम्पनीले आफ्नो पहिलो एसयूभी नेपाल ल्याइसकेको छ ।

अहिले रोड वर्दिनेस टेष्टको क्रममा रहेको ओमोडा ई-५ यही साताको अन्तिमबाट बुकिङ खुला हुँदैछ । यसलाई एसपीजी अटोमोबाइलले नेपाल ल्याएको हो ।

स्काइवेल ब्राण्ड पनि अबको केही दिन भित्रै नेपालमा सार्वजनिक हुनेछ । जी मोटर्सले नेपालमा आधिकारिक बिक्रेताको रूपमा ल्याउन लागेको स्काइवेलका उत्पादन पनि अबको केही दिन भित्रै काठमाडौं आइपुग्ने छ । जी मोटर्सले यसअघि नै स्काइवेल नेपाल ल्याउने घोषणा गरेको थियो । कम्पनीले ल्याउने स्काइवेलका ईभी प्रिमियम फिचर लोडेड हुनेछन् ।

चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेशन (जीएसी) चाँडै नेपालमा सार्वजनिक हुने नयाँ ब्राण्ड हो । यसलाई चौधरी ग्रुप अन्तर्गतको सीजी मोटरले नेपाल ल्याउन लागेको हो ।
जीएसीको इलेक्ट्रीक ब्राण्ड एवोनले उत्पादन गरेको एवोन वाई मोडल केरुङ नाकामा आइसकेको छ । चाँडै यी कारहरू काठमाडौं ल्याउने तयारीमा कम्पनी जुटेको छ । फेब्रुअरी अन्तिम वा मार्चको पहिलो साताबाट जीएसीका उत्पादन नेपाली सडकमा गुड्न थाल्नेछन् ।

सीजी मोटरले अर्को चिनियाँ ब्राण्ड स्मार्टका उत्पादन नेपाल ल्याउने तयारी गरिरहेको छ । मर्सिडिज बेन्जसँगको संयुक्त लगानीमा चिनियाँ कम्पनीले उत्पादन गरेको स्मार्ट ब्राण्ड प्रिमियम एसयूभी निर्माता हो । यसका उत्पादन पनि चाँडै नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

भियतनाको इलेक्ट्रीक कार निर्माता भीनफास्टले पनि नेपालमा डिलर नियुक्त गरेको छ । भीनफास्टका उत्पादन विशाल ग्रुप अन्तर्गतको कम्पनीले ल्याउने भएको हो । यसको डिलरसिप सम्झौता केही दिनअघि मात्रै सम्पन्न भएको हो ।

लामो सयमसम्म निसानको आधिकारिक बिक्रेता रहेको दुगड समूहले चिनियाँ ब्राण्ड गेटोरका उत्पादन नेपाल ल्याउने छ । कम्पनीले ल्याउन लागेको गेटोर ब्राण्ड ठूला र मस्कुल एसयूभी उत्पादन गर्ने ब्राण्ड हो । कम्पनीका उत्पादन इलेक्ट्रीकमा उपलब्ध हुनेछ ।

