काठमाडौं । सिजी मोटर्सले ‘नेटा एक्स’ दुई साता भित्रै नेपाल आइपुग्ने जनाएको छ । कम्पनीले ल्याउन लागेको नेटा एक्स एसयूभी चीनबाट नेपालको लागि हिडिसकेको जानकारी आएको हो ।
भदौ अन्तिममा आयोजना भएको ‘नाडा अटो शो २०२३’मा नै बुकिङ खुल्ला भएको नेटा एक्स बैशाखबाट डेलिभरी दिने सिजी मोटर्सले बताएको थियो ।
‘अहिले केहि यूनिट नेटा एक्स नेपालको लागि हिडेको छ । त्यो आएपछि हामी टेष्ट ड्राइभ लगायतका गतिविधि तिब्र बनाउने छौं’, कम्पनीका सीईओ हेमन्त अग्रवालले भने ।
नेटा एक्सको आधिकारीक मूल्य निर्धारण नभएपनि ५२ लाख हाराहारी पर्ने जानकारी पहिल्यै दिएको थियो । यसको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस दिएको छ ।
स्मार्ट फिचरको रुपमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको नेटा एक्समा ३ वटा स्मार्ट ड्राइभिङ चिप दिइएको छ ।
कम्पनीले यसमा ७२.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले अधिकतम ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ ।
सिजी मोटर्ससँग अहिले होजोन मोटर्सले उत्पादन गरेको नेटा भी मात्रै छ । नयाँ मोडल आएसँगै कम्पनीको लाइनअप पनि बलियो बन्ने देखिन्छ ।

