डिसेम्बरबाट नेपाली बजारमा आउँदै बिएमडब्ल्यु बाइक, कति पर्ला मूल्य ?

काठमाडौं । बिएमडब्ल्यु मोटोराडले भारतीय बजारलाई लक्षित गर्दै टीभीएस मोटरसँगको सहकार्यमा उत्पादन गरेको बाइक नेपाली बजारमा आउने पक्का भएको छ । उक्त बाइकलाई नेपाली बजारमा टर्बो मोटरले ल्याउन लागेको हो । 

केही समय अगाडि मेरोअटोले बिएमडब्ल्युका बाइक नेपाल ल्याउने तयारीमा ब्यवसायीक घरानाको दौडधुप चलिरहेको विषयमा समाचार प्रकाशन गरेको थियो । करिब १० ब्यवसायीक घरानाले बिएमडब्ल्यु नेपाल ल्याउन प्रयास गरेका थिए । अन्त्यमा पञ्चकन्या समूह अन्तर्गतको टर्बो मोटरले बाजी मारेको हो । 

यो पनि पढ्नुहोस्: उत्पादन बढाउँदै बीएमडब्लू G-310 मोडल, नेपाल ल्याउने दौड सुरु

सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडल ल्याउने छ । 

बीएमडब्ल्यू जी–३१० जीएसमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ । उक्त एड्भेञ्चर मोडलले राम्रो पफर्मेन्ससमेत देखाइरहेको छ । जी–३१० जीएसको अधिकतम् स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ । 

जी–३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर–२४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी–३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन–फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि–लोडेड एड्जस्टेवल मोनो–शक राखिएको छ । 

नेपाली बजारमा डिसेम्बर महिनाको अन्त्यसम्ममा बिक्री वितरण सुरु हुने अनुमान गरिएको यो बाइकको नेपाली बजारमा ९ लाख रुपैयाँको हारहारीमा मूल्य पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top