सुजुकीको नेपाली उत्पादन परिक्षणमा, यी हुन् सुरुमा बन्ने मोडल

काठमाडौं । नेपालमा दुई पाङ्ग्रेको नयाँ एसेम्बल प्लान्ट संचालनमा आएको छ । जापानी मोटरसाइकल कम्पनी सुजुकीको एसेम्बल प्लान्ट संचालनमा आएको हो ।

ग्लोबल अटोमोवाइल्स कम्पनीले सुजुकीका मोटरसाइकल तथा स्कुटर एसेम्बल सुरु गरेको छ । उक्त कम्पनी विशाल ग्रुपको स्वामित्वमा रहेको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कम्पनी भिजी अटोमोवाइल्स पनि विशाल ग्रुपकै कम्पनी हो ।

सुजुकी मोटरसाइकलको बिक्री न्यून रहेपनि कम्पनीको सबैभन्दा लोकप्रिय मोटरसाइकल जिक्सर, वर्गम्यान र नयाँ स्कुटर एभेनिसको एसेम्वल सुरु भएको कम्पनीले जनाएको छ ।

अहिले परिक्षण उत्पादन सुरु भएको हो । अहिले उत्पादन भएका मोटरसाइकल तथा स्कुटरको परिक्षण उत्पादन समेत सुरु भएको छ । बजारमा बिक्रीका लागि एसेम्बल सुरु हुन भने अझै केही समय लाग्ने कम्पनीले जनाएको छ ।

‘अहिले एसेम्बली लाइन परिक्षणका साथै एसेम्बल भएको स्कुटर तथा मोटरसाइकलको रोड टेष्ट भइरहेको छ । परिक्षण पश्चात् जापानले नेपालमा एसेम्बल भएको सवारी साधनको अन्तिम परिक्षण गरेरपछि मात्रै बिक्रीको लागि अनुमति दिन्छ । त्यसपछि बिक्रीको लागि उत्पादन गर्ने तयारीमा छौं’, कम्पनी स्रोतले भन्यो ।

पछिल्लो समय नेपालमा नै एसेम्बल प्लान्ट लगाउने कामले तिब्रता पाएको छ । बजाजले नेपालमा सुरु गरेको एसेम्बल त्यसपछि टीभीएस, यामाहा, रोयल इनफिल्ड हुँदै सुजुकीसम्म आइपुगेको हो ।

हिरो मोटरसाइकलको नयाँ आयातकर्ता नियुक्त भएसँगै सिजी मोटर्सले समेत एसेम्बल प्लान्ट संचालनमा ल्याउने अन्तिम तयारी गरिहेको छ ।


Back_to_top