काठमाडौं । नेपालमा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीमा बजाज पर्छ । बजाजले पावरमा आधारित मोटरसाइकल उत्पादन गर्दै आएको छ । बजाजलाई ग्राहकले रुचाउने पहिलो कारण पनि पावर नै हो । पावर मात्र नभएर बजाजका मोटरसाइकल अन्य प्रतिस्पर्धी ब्रान्डका मोटरसाइकलहरु भन्दा मूल्य पनि कम भएको पाइन्छ ।
त्यस्तै नेपालमा धेरै मोटरसाइकल बिक्री गर्ने मध्येको अर्को कम्पनी हो यामाहा । यामाहाका मोटरसाइकल तुलनात्मक रुपमा महंगो भएपनि दैनिक संचलान खर्च कम हुने मोटरसाइकलमा पर्छ ।
यामाहाका मोटरसाइकलमा धेरै माइलेज पाइने कारण ग्राहकको रोजाइमा पर्दै आएका छन् । साथै, यामाहाका मोटरसाइकल पनि ट्रेन्डी डिजाइनका हुन्छन् ।
यस्तोमा तपाईले यामाहा वा बजाज मध्ये कुन ब्राण्डको मोटरसाइकल खरिद गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने मूल्य तथा पावर आधारमा यामाहा एफजेड भी ३ को सबैभन्दा टप भेरियन्ट डिलक्स र बजाज पल्सर एन १६० बीचको भिन्नता केलाउने प्रयास गरेका छौं ।
पावर
बजाजका मोटरसाइकलहरु सधै पावरका कारण चर्चामा छन् । बजाजले पावर पर्फमेन्सलाई नै ध्यानमा राखेर मोटरसाइकल बनाउँदै आएको छ ।
बजाज पल्सर एन १६० मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ ।

यामाहा एफजेडएस भी ३ डिलक्समा १४९ सीसी सिगंल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिन उपलब्ध छ । यसले १३ पीएस पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै मोटरसाइकलमा ५ स्पीड गियरबक्स रहेको छ ।
पावरको तुलना गर्ने हो भने पल्सर एन १६० एफजेडभन्दा धेरै पावरफुल छ । पावरको खोजीमा हुने ग्राहकले पल्सर एन १६० रोज्न सक्नेछन् ।
लुक्स
यामाहाले विगत लामो समयदेखि बिक्री गर्दै आएको एफजेडकै लुक्समा भर्सन ३ को डिलक्स भर्सन ल्याएको हो । ग्राहकलाई यसको डिजाइन केही पुरानो लाग्छ सक्छ ।
बजाजले बिक्री गर्दै आएको एनएस सिरिजको तुलनामा केही नौलो डिजाइन दिएको पल्सर एन सिरिजको फ्रेस लुकले ग्राहकलाई नयाँपन दिन सक्छ ।
ह्वील/ब्रेक
यी दुबै मोटरसाइकलमा १७ इन्चको ट्यूवलेस टायर उपलब्ध छ । बजाज र यामाहाले नै ड्यूल डिस्क ब्रेक दिएका छन् ।
बजाजले एन १६० को फ्रन्टमा ३०० र रियरमा २३० एमएमको डिस्क दिएको छ । तर, यामाहाले एफजेडएस भी ३ डिलक्सको फ्रन्टमा २८२ र रियरमा २२० एमएम साइजको डिस्क प्रयोग गरेको छ ।

बजाजले डबल च्यानल एबीएस दिँदा यामाहाले सिंगल च्यानल एबीएस मात्रै दिएको छ । समग्रमा डिस्क साइज र डबल च्यान एबीएस भएको कारण सुरक्षा फिचरमा पनि बजाज अब्बल देखिन्छ ।
इन्धन र माइलेज
यामाहा एफजेडमा १३ लिटर क्षमताको इन्धन ट्याङ्क छ । बजाज एन १६० मा १४ लिटर क्षमताको इन्धन ट्याङ्क पाइन्छ । भारतीय अटोमोटिभ रिर्चस एसोसिएशन अफ इन्डिया (एआरएआई)का अनुसार यामाहा एफजेड भी ३ ले ५५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
बजाज पल्सर एन १६० मा १ लिटर पेट्रोल हालेर ५२ किलोमिटर चलाउन सकिने एआरएआईको रिपोर्टले देखाउँछ । रियल टाइम परिक्षणमा भने पल्सरको तुलनामा एफजेडले माइलेज धेरै दिने देखिन्छ ।
मूल्य
नेपाली बजारमा यामाहाको मोटरसाइकल विक्री गर्दै आएको कम्पनी एमएडब्ल्यू राइडस् प्रालिले एफजेड भी ३ डिलक्सको मूल्य ४ लाख ४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
त्यस्तै, बजाज मोटरसाइकल बिक्री गर्ने कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले एन १६० को मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । मूल्यको आधारमा बजाज एन १६० एफजेडभन्दा ११ हजार रुपैयाँ सस्तो छ ।


