चैतबाट बिक्री सुरु हुँदै दुई क्रसओभर एसयूभी, आकर्षक मूल्यमा किन्न पाइने

काठमाडौं । दुई फरक चिनियाँ ब्राण्डले आफ्ना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा बिक्री सुरु गर्न लागेका छन् । चैत महिनाबाट बिक्री सुरु हुने दुबै क्रसओभर एसयूभी नेपालको लागि नयाँ ब्राण्डका उत्पादन हुन् ।

चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा र चांगानको इलेक्ट्रीक ब्राण्ड दिपलका उत्पादन नेपालमा बिक्री सुरु हुन लागेको हो । ओमोडा ई-५ को बुकिङ विगत एक महिनादेखि खुल्ला छ । त्यस्तै दिपल एस-७ को पनि टेष्ट ड्राइभ लगायतका गतिविधि चलिरहेको छ ।

मूल्यका हिसावले यी दुई एसयूभीमा झण्डै १२ लाख रुपैयाँ हाराहारी अन्तर रहने बताइएको छ । ओमोडाले ई-५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, दिपल एस-७ को मूल्य अहिलेसम्म टुङ्गो लागेको छैन । तर, कम्पनीले टेष्ट ड्राइभ गर्नेहरुलाई ७२ लाख हाराहारी मूल्य कायम हुने बताइरहेको छ ।

मोटर पावरको हिसावले दुबै क्रसओभर मोडलमा समान ९९ किलोवाट क्षमता पाउन सकिन्छ । तर, ब्याट्री पावरमा भने फरक छ । दिपलले एस-७ मा ६६ किलोवाट आवरको ब्याट्री दिएको छ । ओमोडा ई-५ मा भने ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । दुबैको रेन्ज ४०० किलोमिटर माथि रहेको छ ।

साइजको कुरा गर्दा दिपल एस-७ निकै लामो छ । कम्पनीले यसलाई ४.७ मिटर लामो साइजमा बनाएको छ । त्यहि ओमोडा ४.४ मिटर लामो क्रसओभर हो ।

साइज अनुसार दिपल एस-७ को क्यानिव निकै ठूलो छ । लग्जरी फिचरले भरिपूर्ण यो क्रसओभर मोडलको ड्यासबोर्ड ‘बटम लेस’ बनाइएको छ । साथै, यसमा चालकलाई आकर्षित गर्न थुप्रै फिचरहरु दिइएको छ ।

यता ओमोडा ई-५ मा बीवाइडीको सहायक कम्पनी फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्री दिइएको छ । सुरक्षा फिचरमा कुनै सम्झौँता नगरिएको दुबै कारले बजारमा कस्तो ब्यापार पाउँछन् । त्यो हेर्न भने केही महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top