काठमाडौं । कलंकी-कालीमाटी-त्रिपुरेश्वर सडकखन्डमा आज बिहान स्थानीयवासीले सवारीसाधन संचालनमा अबरोध गरे । उक्त सडकखन्डमा मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप राखिसक्दा पनि सडक मर्मत नभएको भन्दै स्थानीयवासी आन्दोलनमा नै उत्रेका हुन् ।
सडकबाट निस्केको अत्याधिक धुलोधुवाँका कारण जनजिवननै प्रभावित भएपछि आफुहरुले सडक नै बन्द गर्नुपरेको स्थानीयवासी बताउँछन् ।
आन्दोलनरत पक्षले धुलोधुवाँको नियन्त्रणको माग राख्दै अनिश्चितकालिन सडक बन्द गराउनेसमेत घोषणा गरेका छन् ।
स्थानीय दिनेश अधिकारीका अनुसार, पटक पटक सहमति भएपनि अझै सडक मर्मत नभएकाले आफुहरु आन्दोलनमा उत्रन परेको बताए । उनले भने, ‘अब भने हामी धुलो नियन्त्रण नभएसम्म सडक खुल्न दिदैनौं ।’
यसअघि पनि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका थिए । तत्कालिन अबधिमा धुलो धुँवा नियन्त्रणको लागि भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १४ सँग स्थानीयले सम्झौता गरेपछि आन्दोलन स्थागित भएको थियो । आन्दोलित स्थानीयले तत्काल सडक कालोपत्रे गर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने, बीच बाटोमा अनावश्यकरुपमा राखिएका डिभाइडर हटाईनुपर्ने लगायतका माग गरेका छन् ।
विहान ९ बजेदेखि अबरुद्ध बनेको उक्त सडकखन्ड अझैसम्म खुल्न नसकेका कारण उपत्यकाका मुख्य चोक थापाथली तथा टेकुलगायतका अन्य स्थानमा अत्याधिक जाम रहेको छ । महानगरीय ट्राफिक प्रहरीले उक्त सडक जाम खुलाउने प्रयास गरिरहेको जाएको छ ।


