काठमाडौं । कियाले भारतमा कारेन्स ईभी उत्पादन गर्ने घोषणा गरेको छ । कम्पनीले ७ सिट क्षमताको कारेन्स ईभी भारतमै उत्पादन गर्ने भएको हो ।
कारेन्ससँगै आफ्नो फ्ल्यागसीप एसयूभी ईभी-नाइन पनि भारतमा बिक्री सुरु गर्ने योजना कोरियन कार निर्माताले गरिरहेको छ ।
किया मोटर्सका प्रेसिडेन्ट तथा सीईओ हो सुङ सोङले २०२४ को इन्भेस्टर डे कार्यक्रममा भारतको लागि दुई ईभी मोडल घोषणा गरेका थिए । कम्पनी श्रोतका अनुसार कियाले सन् २०२५ को दोस्रो हाफसम्म नयाँ एसयूभी क्लाभिस पनि लन्च गर्ने योजना बनाएको छ ।
अहिले पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध कारेन्समा आधारित ईभी पनि २०२५ को मध्यसम्ममा आउने अनुमान गरिएको छ । कियाले क्लाभिस एसयूभीको पेट्रोल र डिजेल भर्सन भने सन् २०२५ को सुरुवातमै बजारमा ल्याउने छ ।
पेट्रोल इन्जिनमा लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ । कियाले सन् २०२६ सम्ममा उदयमान बजारमा ५ लाख ८७ हजार विद्युतीय कार बेच्ने लक्ष्य राखेको छ ।
कियाले सन् २०२७ सम्ममा १५ वटा नयाँ ईभी मोडल लन्च गर्ने लक्ष्य राखेको छ । यसै वर्ष ईभी-थ्री लन्च हुने छ । साथै, ईभी-टु, ईभी-फोर र ईभी-फाइभ जस्ता मोडल सहित ६ वटा मास मार्केट मोडलहरु मूख्य बजारहरुमा लन्च गरिसक्ने जनाएको छ ।
किया मोटर्सले सन् २०३० सम्ममा वार्षिक १६ लाख ईभी बिक्री गर्ने लक्ष्य भेट्टाउन सन् २०२४ कोभन्दा १३ लाख यूनिट धेरै ईभी बिक्री गर्नुपर्छ । हाल कुल बिक्रीको १३ प्रतिशत ईभी रहकोमा सन् २०३० मा ५२ प्रतिशत ईभीको हिस्सा पुर्याउनु पर्ने देखिन्छ ।

