२०८० सालमा सर्वाधिक बिक्री भएका तीन कार, तपाईंको रोजाइमा कुन ?

काठमाडौं । बिक्रम सम्बंत २०८० साल बिदा हुने संघारमा छ । नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै गर्दा २०८० साल अटो क्षेत्रको लागि कस्तो रह्यो भन्ने चर्चा गर्नु उपयुक्त हुन्छ ।

गाडी बिक्रीको आधारमा २०७९ को तुलनामा २०८० स्वभाविक रूपमा राम्रो भयो । त्यो राम्रो हुनुको मुख्य कारण विद्युतीय गाडीको बिक्री बढ्नुलाई लिन सकिन्छ । यद्यपि, उद्योगी/व्यवसायीहरू अहिले भएको वृद्धिलाई नेचुरल मान्दैनन् ।

गाडीको व्यापारमा नरहेका भैरहवाका उद्योगी राजेशकुमार अग्रावाल अहिलेको गाडी बिक्री स्वाभाविक नभएको ठान्छन् । उनी भन्छन्, ‘कहाँ नेचुरल मार्केट छ । जोसँग पहिल्यै गाडी छ र अर्को गाडी राख्ने हैसियत पनि छ भने उसले ईभी किनेको छ । त्यसलाई नै अहिले गाडी बिक्री बढ्यो भनिएको हो । वास्तवमा नयाँ गाडी किन्ने उपभोक्त सोचे जसरी थपिएको अवस्था छैन ।’

उद्योगी अग्रवालको भनाइसँगै नयाँ गाडी बिक्रीको तथ्यांकलाई पनि हेर्नु उपयुक्त हुन्छ । यसवर्ष झण्डै १० हजार ७०० यूनिट हाराहारी कार आयात भएका छन् । यसमा केही मोडलको बिक्री संख्या अत्यन्त धेरै रहेको छ ।

एटो-थ्री

वि.सं. २०८० साल एटो-थ्रीको नामभन्दा फरक पर्दैन । कम्पनीले एक सालमा झण्डै १ हजार ८०० यूनिट एटो–थ्री नेपाल ल्याएको छ । एक वर्षमै यति धेरै एटो–थ्रीको आयात भएको कारण एसयूभी सेग्मेन्टको बजार हिस्साम समेत सुधार पुगेको देखिन्छ ।

आफ्नो स्पोर्टी डिजाइन, पर्फमेन्स र ब्लेड ब्याट्रीको सहायतामा एटो–थ्रीले बजारमा दमदार बिक्री पाएको हो । ५६ लाख ६६ लाख मूल्यमा उपलब्ध दुवै भेरियन्टको बिक्री पनि लगभग बराबर नै रहेको छ ।

नेपाल आएको पहिलो वर्षमा नै एटो-थ्रीले धेरै उपभोक्ताको मन जित्न सफल भएको हो । ६० र ५० किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको इलेक्ट्रीक मोटर एटो-थ्रीमा दिइएको छ ।

टाटा टियागो ईभी

सहरी क्षेत्रमा काम गर्ने र बजेट पनि थोरै खर्च गर्दा पुग्ने भएको कारण धेरै मानिसले टियागो किन्न लामो समय कुरेर बसेको हामीले पायौं । नेपाल आएको ८ महिनामा नै १ हजार ३०० यूनिट हाराहारी टियागो नेपाली बजारमा उपलब्ध भयो ।

Tiago ev

ह्याचब्याक सेग्मेन्टको बिक्री नै कमजोर अवस्थामा पुगेको समयमा उपलब्ध भएको टियागो ईभले आफ्नो बिक्री मात्रै बढाएन समग्र कार बजारमा ह्याचब्याकको हिस्सा पनि राम्रैसँग वृद्धि गर्न सफल भयो । टियागो ईभीमा ५० किलोवाटको इलेक्ट्रीक मोटर र २४ किलोवाट आवरको ब्याट्री यसमा पाउन सकिन्छ । यसको मूल्य २२ लाख ९९ हजारदेखि २८ लाख ९९ हजारसम्म छ ।

एमजी जेडएस ईभी

एमजी जेडएस ईभी नेपालमा सदावहार इलेक्ट्रीक एसयूभी हो । सन् २०२० देखि निरन्तर धेरै मानिसको रोजाइमा पर्न सफल एमजी जेडएस ईभी एक वर्षमा १ हजार यूनिटभन्दा धेरै बिक्री भएको छ ।

निरन्तर सफलता पाइरहेको जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको इलेक्ट्रीक मोटर रहेको छ । ५२ लाख ९९ हजार मूल्य रहेको जेडएस ईभी आफ्नो पर्फमेन्स, कम्फर्ट र लुक्सको कारण सफल भएको हो ।


Back_to_top