एक वर्षमा नेपाल आएका चर्चित १० कार

काठमाडौं । विक्रम सम्बत् २०८० सालको आज अन्तिम दिन हो । २०८० आर्थिक मन्दीले गाँजेको वर्ष भए पनि नयाँ गाडीको प्रवेश भने निरन्तर चलिरह्यो ।

विगत एक वर्षमा थुप्रै नयाँ मोडल बजारमा आए । तीमध्ये चर्चामा रहेका १० मोडलका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

विगत एक वर्षमा सबैभन्दा धेरै कार चीनमा बनेर आएका छन् । भारतमा ईभी उत्पादन न्यून हुनु र नेपालमा पेट्रोल कारको बिक्री घट्नुको कारण नै चिनियाँ उत्पादनको दबदवा बढ्नु हो ।

विगत एक वर्षमा पुराना ब्राण्डकाभन्दा पनि नयाँ ब्राण्डका कारहरूको चर्चा र बिक्री पनि धेरै भएको तथ्यांकमा देखिन्छ ।

tiago emi

१. टाटा टियागो ईभी : २०८० सालमा नेपाल आएको सर्वाधिक सफल मोडल टियागो ईभी हो । पारिवारिक ह्याचब्याक कार मूल्यकै कारण सर्वाधिक चर्चामा रहन सफल भयो । भदौ अन्तिमसाता बिक्री सुरू भएको टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको टप भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँसम्म पर्छ ।

२. बीवाइडी डल्फिन : चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा ल्याएको डल्फिन मूल्य र फिचरको कारण चर्चा पाउन सफल भयो । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ र एडास फिचर भएको कारण धेरैले डल्फिनलाई मन पराए । बीवाइडीले यसमा ४५ किलोवाट आवरको ब्लेड ब्याट्री र ७० किलोवाट आवरको मोटर दिएको छ ।

३. एमजी फोर : स्पोर्टस् डिजाइनमा तयार भएको ह्याचब्याक एमजी फोर धेरैले चर्चा गरेको अर्को मोडल हो । लग्जरी कारको जस्तो डिजाइन, फिचर र मूल्यको उत्कृष्ट कम्बिनेशन यसमा पाउन सकिन्छ । ५१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको मोटर यसमा पाउन सकिन्छ । यसको सुरूआती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ छ ।

४. सेरेस थ्री : उच्च ग्राउन्ड क्लियरेन्सको कारण सेरेस थ्री चर्चित बन्यो । नाडा अटो शो २०२३ मा सार्वजनिक भएको सेरेस थ्रीले निकै राम्रो व्यापार गर्न सफल भयो । ५२ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर रहेको सेरेस थ्रीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

५. एमजी कोमेट : तीन ढोका र कम मूल्यको कारण एमजी कोमेट चर्चित बन्यो । सानो स्थानमा पार्क गर्न सकिने पृथक डिजाइनको एमजी कोमेटमा १७ किलोवाट आवरको ब्याट्री र ३० किलोवाट क्षमताको मोटर रहेको छ । यसको सुरूआती मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

६. हुन्डाई एक्सटर : पेट्रोल कारको चर्चा कम हुँदै गएको समयमा आएको एक्सटर माइक्रो एसयूभीले राम्रै चर्चा पायो । नाडा अटो शोमा बिक्रीका लागि उपलब्ध नरहेको एक्सटर धेरै मानिसको चापको कारण कम्पनीले बीचमै हटाएको थियो । अहिले यसको बिक्री सुरू भएको छ । यसमा १.२ लिटर क्षमताको इन्जिन उपलब्ध छ । यसको मूल्य ३४ लाख ९६ हजारदेखि सुरू गरिएको छ ।

७. ओमोडा ई-५ : चिनियाँ ब्राण्ड चेरीको सहायक कम्पनी ओमोडाको ई-५ एसयूभी नेपाल आउनु अगाडि नै चर्चा पाउन सफल भयो । बीवाइडीकै ब्लेड ब्याट्री, कुप्पे डिजाइन र आधुनिक सुरक्षा फिचरको कारण यसले चर्चा पाएको थियो । यसमा ६१ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । यसको मूल्य ५९ लाख ४९ हजार तोकेर बिक्री सुरू भएको थियो ।

८. दिपल एस-७ : अर्को चिनियाँ ब्राण्ड चांगानको सहायक ब्राण्ड दिपलको एस-०७ मोडल अहिले बजारको हट मोडल हो । ३ महिना अघि नै नेपाल आएको दिपल एस-७ लुक्स र क्याबिन इन्टेरियरको कारण चर्चित छ । यसमा ६८ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर छ । यसको मूल्य ७१ लाख ९९ हजार तोकेर बिक्री भइरहेको छ ।

९. महिन्द्रा स्कर्पियो एन : महिन्द्राको चर्चित स्कर्पियो एन पनि निकै चर्चा भएको मोडल हो । भारतीय बजारमा सर्वाधिक बिक्री भइरहेको मोडलको सूचीमा सूचिकृत स्कर्पियो एनमा २.२ लिटर डिजेल इन्जिन उपलब्ध छ । फोर बाइ फोर क्यापासिटीमा उपलब्ध स्कर्पियो एनको सुरूआती मूल्य ८१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

१०. सुजुकी जिम्नी : जापानी ब्राण्डले भारतमा उत्पादन गरेको जिम्नी लाइफ स्टाइल एसयूभी हो । गत असारमा नेपाल आएको जिम्नीले निकै धेरै चर्चा कमाउन सफल भएको थियो । ५९ लाख ९९ हजार रुपैयाँबाट मूल्य सुरू भएको यो अफरोड मेशिनमा फोर ह्वील ड्राइभ सिस्टम सहित १.५ लिटर क्षमताको इन्जिन छ ।

 

 


Back_to_top