काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बीवाइडी तथा टेस्लाले मूल्य घटाएसँगै कोरियन अटोमोबाइल कम्पनीहरूले पनि विद्युतीय सवारी (ईभी) को मूल्य घटाउन थालेका छन् ।
हालै कोरियन कम्पनी कियाले आफ्नो सबैभन्दा ठूलो ईभी ईभी-९ को मूल्यमा ७ हजार ५०० डलरसम्म घटाएको छ । कियालाई पछ्याउँदै अर्को कोरियन कम्पनी हुन्डाईले पनि नयाँ जेनेरेशन कोनाको मूल्य घटाएको हाे ।
हुन्डाईले सन् २०२४ कोना इलेक्ट्रीकमा अमेरिकी बजारमा ७ हजार ५०० डिस्काउन्ट दिने घोषणा गरेको हो । अब कोना इलेक्ट्रीक एसईको सुरूआती मूल्य २६ हजार ५५० डलर भएको छ । यस अघि कोना ईभीको मूल्य ३४ हजार ५० डलर रहेको थियो ।
कोना इलेक्ट्रीकको एसई मोडलमा १०० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ भने ४८.६ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीको ३७५ किलोमिटर रेन्ज हुने डब्ल्यूएलपीटीले पुष्टी गरेको छ ।
हुन्डाईले २०२४ मा नयाँ बडी स्टाइलको कोना ईभी लन्च गरेको थियो । यसको एक्सटेरियर डिजाइन आयोनिक ५ बाट प्रभावित भएको देखिन्छ । कम्पनीले नयाँ कोनोसँगै ४८.६ किलोवाट आवरको लिक्वीड कुल्ड ब्याट्रीप्याक समेत लन्च गरेको थियो । यसमा फास्ट चार्जिङ स्पीड पनि बढेर १०० किलोवाटसम्म सपोर्ट गर्ने भएको छ । अब यो ईभी १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न जम्मा ४५ मिनेट मात्र लाग्छ ।

नेपाली बजारमा हुन्डाईको कोना ईभी बिक्री भइरहेता पनि २०२४ मोडल भने लन्च भएको छैन । नयाँ काेना भारतीय बजारमा आगामी मे महिनामा लन्च हुने अनुमान गरिएको छ । नयाँ कोना नेपालमा पनि चाँडै भित्रीने हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले बताएको छ ।

