काठमाडौं । यातायात व्यवस्था विभागले करिब एक महिनादेखि बन्द भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन भोलि शुक्रबारबाट खुलाउने भएको छ । विभागले चाडपर्वका कारण देखाउँदै बीचमा बन्द गरेको लाइसेन्सको फारम भोलिबाट खुल्ने जानकारी दिएको हो ।
विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले लामो समयपछि आवेदन खुल्दा सर्भरमा समस्या आउने सक्ने भएकाले विभागले सचेत भएर काम अगाडि बढाएको बताए ।
‘विविध कारणले दशैअघि बन्द भएको लाइसेन्सको फारम शुक्रबारबाट खुर्लाउँदै छौं । लामो समयपछि आवेदन खुलेकाले सेवाग्राहीको भिड लाग्न सक्छ । सर्भरमा समस्या आउँला भनेर हामी सचेत भएका छौं’ उपाध्यायले मेरोअटोसँग भने ।
उपाध्यायले अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको जानकारी दिए ।
६ लाखलाई कार्ड दिन बाँकी
लाइसेन्सको लागि नयाँ आवेदन खुलाएतापनि विभागले ट्रायल उत्तिर्ण गरेका ६ लाखभन्दा बढि चालकलाई स्मार्ट लाइसेन्स बितरण गर्न सकेको छैन । उनीहरुले लाइसेन्स कुरेर बसेको झन्डै एक बर्ष पुगिसकेको छ ।
लाइसेन्स छाप्न जिम्मेवारी पाएको मालिका इन्कर्पोरेटले भने अहिलेसम्म जम्मा जम्मी ७० हजार प्रति लाइसेन्स छापेको जानकारी दिएको छ । उक्त लाइसेन्स विभागलाई बुझाउने तयारी भैरहेको कमपनीले जानकारी दियो ।
इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्न सक्ने क्षमता रहेको बताए पनि सोचे अनुसार काम गर्न नसको र विभागले दिएको डाटा गलत हुने भएकाले समस्या आएको बताएको छ ।
दैनिक ६ हजार कार्डको माग भएतापनि विभागले मात्रै १ हजार ५ देखि २ हजार कार्ड छाप्दै आएको छ । प्रवक्ता उपाध्याय भने दैनिक दुई हजार कार्ड छापिएको बताउँदै स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका चालकले छिट्टै लाइसेन्स पाउने दाबी गरे ।


