काठमाडौं । नेपालमा बिक्री हुने चार पाङ्ग्रे सवारीमा ७० प्रतिशत हाराहारी विद्युतीय कार हुन थालेका छन् । अहिले बजारमा १३ लाखदेखि २ करोड ३० लाख रुपैयाँसम्मका इलेक्ट्रीक कार उपलब्ध छन् ।
बजारमा उपलब्ध कारहरुले एक पटकको फुल चार्जमा १०० किलोमिटरदेखि ६०० किलोमिटरसम्म रेन्ज दिन्छन् । त्यसमाथि हरेक साता नयाँ मोडल नेपाल आउने घोषणा हुँदै आएको छ ।
अमेरिकादेखि युरोप, कोरिया, इण्डोनेशिया, इन्डिया र चीनमा उत्पादन भएका सवद्युतीय कार आइरहेका छन् । यस्तोमा यति धेरै ब्राण्डका उत्पादन मध्ये कुन कार किन्ने भन्ने अन्योल धेरैमा देखिन्छ । त्यसैले विद्युतीय कार किन्दा निम्न ५ कुरामा ध्यान दिन जरुरी हुन्छ ।
आफ्नो आवश्यक्ता अनुसारको रेन्ज हेर्ने
प्रायः सबै विद्युतीय कार किन्नेको पहिलो चासो रेन्ज हुने गरेको छ । त्यसैले आफ्नो दैनिक यात्रालाई हेरेर कुन रेन्ज ठिक हुन्छ, एकिन गर्नु पर्छ ।
धेरै हाइवे यात्रा गर्नु पर्छ भने लङ रेन्ज दिने गाडी छान्नु उपयुक्त हुन्छ । होइन सहरी क्षत्रमा मात्रै गाडी चलाउनु हुन्छ भने सर्ट र मिड रेन्ज ईभी उपयुक्त हुन्छ ।
आफूलाई आवश्यकता भन्दा बढि रेन्ज दिने ईभी किन्नु भनेको गाडीमा धेरै पैसा फसाउनु हो । जति बढि रेन्ज दिने गाडी भयो, त्यतिनै धेरै मूल्य पर्छ ।
कम्पनीले दावी गरेको रेन्जमा विश्वास नगर्नु बेस
प्रायः ईभी कम्पनीहरुले आफ्नो गाडीको रेन्ज धेरै भन्ने गरेको गुनासो सुनिदै आएको छ । गाडी कम्पनीले एकदमै राम्रो अवस्थामा ल्याबमा रेन्ज टेस्ट गरेर किलोमिटर दावी गर्छन् । जुन सडकमा गुडाउँदा पाइदैन ।
कतिपय देशका आफ्नै रेन्ज टेस्ट गर्ने प्रकृया र प्रविधि छन् । प्रत्येक देशको हावापानी, तापक्रम तथा भू वनावट फरक फरक हुने भएकोले एक देशमा गरिएको रेन्ज टेस्ट अर्को देशमा मिल्दैन । फेरी रियल लाइफमा गाडी चलाउँदा एसी वा हिटरको पनि प्रयोग गरिन्छ । उक्त प्रयोगले ईभीको रेन्जमा उल्लेखीय रुपमा गिरावट ल्याउछ ।
ईभी रेन्जको बारेमा जिज्ञासा राख्दा सधै डब्लुएलटीपी (वल्र्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसिडीयर) रेन्ज सोध्ने गर्नु पर्छ । नेपालको सन्दर्भमा भने डब्लुएलटीपी रेन्जमा पनि १५ देखि २० प्रतिशत घटाउनु सुरक्षित हुन्छ ।
पछिल्लो समयमा सबैभन्दा विश्वासीलो भने अमेरिकी इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सीको रेन्ज टेस्ट प्रविधि इपीए रेन्ज हो । तर, अमेरिकामा बिक्री नहुने गाडीको इपीए टेस्ट गरिएको हुँदैन , त्यसकारण डब्लुएलटीपी रेन्ज अहिलेको उत्कृष्ट मापन हो ।
मूल्य र गाडीको बनोट
आवस्यक रेन्जमा निक्र्योल भइसकेपछि गाडीको मूल्य र बनोटमा ध्यान दिनु पर्छ । घर र कार्यालयपछि धेरै समय गाडीमै बित्ने भएकाले आफूलाई उपयुक्त हुने मोडल छनौट गर्नुपर्छ ।
नेपालमा साना साइजका मिनी कार, ह्याचव्याक, कम्प्याक्स एसयूभी, पावरफुल सेडान, लग्जरी एमपीभी तथा फुल साइजका एसयूभी समेत ईभी पावरट्रेनमा उपलब्ध छन् । आफैले गाडी चलाउने हो भने कम्प्याक एसयूभी, ह्याचव्याक तथा मिनीकार उपयुक्त हुन्छ ।
यदि, ड्राइभर राख्ने हो भने एमपीभी तथा फुल साइजका एसयूभी समेत छनौटमा पर्न सक्छ । थोरै व्यक्ती मात्र यात्रा गर्ने हो भने मिनी कार ठिक हुन सक्छ । अफरोड पनि जानु पर्छ भने एसयूभी चाहिन्छ ।
सपिङ गरिरहनु पर्ने वा ठूलो कार्गो स्पेश चाहिनेका लागि सेडान ठिक हुन सक्छ । त्यसैले आफ्नो आवश्यकता अनुसार मोडल छान्नु पर्छ । फेरि जति ठूलो गाडी भयो त्यतीनै धेरै मूल्य पनि धेरै पर्ने भएकाले बजेट र मोडलमा तालमेल मिलाउनु पर्छ ।
इलेक्ट्रीक कारलाई बुझ्ने र मनोरन्जन लिनु
बजारमा सबै तीर ईभीको चर्चा हुँदैमा इलेक्ट्रीक कारनै किन्नु पर्छ भन्ने छैन । ईभीका आफ्नै गुण अवगुण तथा विशेषताहरु हुन्छन् । परम्परागत कम्बस्चन इन्जिन भएका सवारी चलाइरहेका चालकहरुले ईभीमा अर्कै खालको अनुभव गर्न पाउँछन् ।
ईभीमा इन्जिन तथा एक्जस्ट नहुने भएकाले यस्ता गाडी आवज आउँदैनन् । ईभीले तुरुन्तै १०० प्रतिशत पावर डेलिभर गर्छ, जसका कारण एक्सीलरेसन एकदमै फास्ट हुन्छ । यसमा गियरबक्स नहुने भएकाले गियर परिवर्तन गरिरहनु पर्दैन ।
ईभीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम हुने भएकाले आईसीको विपरीत सहरी क्षेत्रमा बढि रेन्ज दिन्छ । यस्ता तथ्यहरुलाई ध्यानमा राखेर मात्रै ईभी खरिद गर्ने कि नगर्ने निर्णय लिनु राम्रो हुन्छ ।
चार्जिङ अप्सन हुनु पर्ने
ईभीलाई मिलाएर चार्ज गरिरहनु पर्छ । त्यसैले ईभी खरिद गर्नु अघि कहाँ चार्ज गर्ने निक्र्यौल गर्नु पर्छ । कतिपय व्यक्तीहरु अपार्टमेन्टमा समेत बस्ने भएकाले सबैसँग इलेक्ट्रीसीटीको कनेक्टीभीटी नहुन सक्छ । यस्तोमा पब्लिक फास्ट चार्जरहरु आफू नजिक कहाँ कहाँ उपलब्ध छ हेर्नु राम्रो हुन्छ ।
सामान्यतया ईभीहरुलाई ओभरनाइट घरमै चार्ज गर्ने चलन रहेको छ । यात्रामा वा हतारको वेलामा मात्र फास्ट चार्जर प्रयोग गर्नेहरु धेरै छन् । फास्ट चार्जर पनि ३० किलोवाटदेखि १२० किलोवाटसम्मका छन् । गाडीको पनि चार्ज लिने क्षमता फरक फरक हुन्छ । यी सबै कुराहरु ध्यानमा राखेर मात्र ईभी किन्नु राम्रो मानिन्छ ।


