काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ८ हजार ४९७ यूनिट विद्युतीय चार पाङ्ग्रे साधन आयात भएको छ । भन्सार विभागका अनुसार बैशाख महिनामा आयात भएको १ हजार ४०४ यूनिटसहित १० महिनामा उक्त आयात भएको हो ।
चैत मसान्तसम्ममा ७ हजार ९३ वटा विद्युतीय कार नेपाल आएको थियो ।
चालू आर्थिक वर्षको साउदेखि वैशाखसम्म आयात भएको विद्युतीय कारको लागि २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ खर्च भएको छ ।
आयात भएको उक्त संख्यामा सबैभन्दा धरै ५१ देखि १०० किलोवाट मोटर क्षमताका विद्युतीय कार छन् । यो मोटर क्षमतामा ४ हजार ८९६ यूनिट गाडी आयात भएको देखिन्छ ।
त्यसैगरी, ५० किलोवाट क्षमतासम्मका मोटर भएका ३ हजार ४ सय ७२ वटा विद्युतीय गाडी आयात भएका छन् । यो सेग्मेन्टमा विद्युतीय भ्यानसमेत आयात भएको देखिन्छ ।
माथिल्लो मोटर पावरमा पनि गाडीको आयात बढ्दै गएको छ । एक सयदेखि २ सय किलोवाट क्षमताका १०५ यूनिट, २ सयदेखि ३ सय किलोवाटसम्मका २४ यूनिट कार आयात भएका छन् ।

