ईभीको बढ्यो कर

काठमाडौं । सरकारले विद्युतीय कारमा लाग्दै आएको करका दरहरु परिवर्तन गरेको छ । आज संघिय संसदमा पेश भएको आर्थिक वर्ष २०८१/८२ को बजेटले करका दरहरु परिमार्जन गरेको हो ।

यसअघि ५० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । यो सेग्मेन्टका कारमा अन्तःशुल्क लगाइएको थिएन । तर, आज सार्वजनिक भएको बजेटले ५० किलोवाटसम्मका विद्युतीय कारमा भन्सार १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत लगाएको छ ।

त्यसैगरी यसअघि ५० देखि १०० किलोवाट क्षमता पीकपावर भएका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको थियो । नयाँ बजेटले १०० किलोवाटसम्मका मोटर जडान भएका गाडीमा भन्सार २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत बनाएको हो ।

अहिले १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार र २० प्रतिशत नै अन्तःशुल्क छ । नयाँ बजेटले यो सेग्मेन्टमा कर बढाएको हो । नयाँ करका दरमा भन्सार र अन्तःशुल्क क्रमशः ३० र २० प्रतिशत बनाइएको हो ।

त्यस्तै २०१ देखि ३०० किलोवाटसम्मका कारमा यसअघि भन्सार ४५ प्रतिशत र ४० प्रतिशत अन्तःशुल्क रहेकोमा नयाँ बजेटले भन्सार ६० र अन्तःशुल्क ३५ प्रतिशत कायम गरेको छ । ३०१ किलोवाट माथिको मोटर पावर भएका गाडीमा लाग्दै आएको ६० प्रतिशत भन्सार र ५५ प्रतिशत अन्तःशुल्कलाई परिमार्जन गरेर भन्सार ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत बनाएको हो ।


Back_to_top