काठमाडौं । कम मूल्यमा कर पाउने विषय नेपालको लागि नौलो जस्तै हो । यद्यपि, विद्युतीय कारको आयात बढ्दै जाँदा १५ लाखदेखि ४० लाख रुपैयाँभन्दा कम मूल्यमा थुप्रै मोडल उपलब्ध भइरहेका छन् ।
अहिले धेरै ब्राण्डले नेपालमा आफ्नो उत्पादन बिक्री सुरू गर्न लागेका छन् । यसरी बिक्री सुरू गर्न लागेका ब्राण्डहरू मध्ये डोङफेङ, विलिङ, बीवाइडी, टाटा, एमजी जस्ता ब्राण्डले कम मूल्यका ईभी बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।
अहिले बजारमा आउन लागेका मोडलमा डोङफेङ नामी–०१, टाटा पन्च, चांगान लुमिन, बीवाइडी सिगल, दायुन यूएहु र लिप टी–०३ मोडल हुन् । यी सबै गाडीको मूल्य २० लाखदेखि ४० लाख रुपैयाँ भित्रै रहने छन् ।
बजारमा आउने क्रममा रहेका यी आधा दर्जन मोडल मध्ये सबैभन्दा कम मूल्यको कार चांगान लुमिन हुनेछ । यसको मूल्य २० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
त्यसपछि लिप मोटर्सको टी-०३ सस्तो मोडल हुनेछ । यसको मूल्य २३ देखि २५ लाख हुने कम्पनीले यसअघि बताएको थियो । बजेटले कर वृद्धि गरेको कारण थोरै मूल्य माथि जान सक्ने बताइन्छ ।

बीवाइडी सिगल ठ्याक्कै कहिले नेपाल आउँछ भन्ने यकिन जानकारी प्राप्त भएको छैन । तर, नेपाली बजारमा प्रवेश गर्ने तयारीमा सिगल रहेको अनुमान गर्न सकिन्छ । सम्भवतः भदौमा आयोजना हुने नाडा अटो शो २०२४ मा सिगल सार्वजनिक हुनेछ ।
दायुन यूएहु नेपाल आइसकेको छ । सीजी मोटर्सले बिक्री सुरू गर्न लागेको यूएहु मोडलको मूल्य ३१ लाख पर्ने कम्पनीले जनाएको थियो । नामी-०१ पनि परिक्षणको लागि नेपाल आइसकेको मोडल हो । यसको मूल्य ३५ लाखदेखि ४० लाख भित्रै रहने छ ।

टाटाको बहुप्रतिक्षीत मोडल पन्च ईभी पनि चाँडै नेपाल आउने मोडलमा पर्छ । सिप्रदीले आगामी नाडा अटो शोमा पन्च ईभी ल्याउने अनुमान गरिएको छ । यसको मूल्य पनि ४० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

