काठमाडौं । गतवर्ष जुन २५ बाट चीनमा बिक्री सुरु भएको दिपल एस-सेभेनले १ लाख यूनिट उत्पादन पुरा भएको छ । पछिल्लो समयमा नेपाली बजारमा हटकेकको रुपमा बिक्री भइरहेको दिपल एस-सेभेन मासिक १० हजार यूनिट हाराहारी उत्पादन भइरहेको देखिन्छ ।
चांगानको सहायक कम्पनी दिपलले मे महिनामा १४ हजार ३७१ यूनिट बिक्री गरेको थियो । दिपलको क्रसओभर एसयूभी एस-सेभेन निकै आकर्षक डिजाइनको कारण नेपालमा पनि राम्रो बिक्री हुँदै आएको छ ।
चांगानको दोस्रो मोडल एसएल-०३ सेडान पनि चीनमा राम्रो बिक्री भइरहेको छ । चाँडै कम्पनीले तेस्रो मोडलको रुपमा निकट भविष्यमै ‘रग्ड अफरोडर जी-३१८’ लन्च गर्दैछ । दिपलले नयाँ कम्प्याक्ट एसयूभी एस-०५को तस्विर समेत सार्वजनिक गरेको छ ।
अत्याधुनिक फिचर लोडेड दिपल एस-सेभेन टेस्लाको मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो । तर, नेपाली बजारमा भने यसको मूल्य टेस्ला मोडल वाई भन्दा आधा सस्तो रहेको छ ।
दिपल एस-सेभेनको लम्बाई ४७५० एमएम, चौडाई १९२१ एमएम र उचाई १६२५ एमएमको रहेको छ । यो ईभीमा २८९० एमएमक लामो ह्वीलवेस पाउन सकिन्छ ।
यसमा ९९ किलोवाटको रियर ड्राइभ मोटर तथा ६६.८ किलोवाट आवरको टर्नरी लिथियम (एनएमसी) ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।

