काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरू भएको छ ।
नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुुन्डाई भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्री सुरू गरेको हो ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीका सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा उत्पादन गरेको हुन्डाई भेन्यूको बनावट, गुणस्तर, पर्फमेन्स, फिचर्सहरू हुन्डाईले कोरिया र भारतमा बनाउने गाडी सरह नै रहेको कम्पनीको दाबी छ ।
हुन्डाई स्वदेशमै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, विद्युतको खपत बढाउनुका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्रै थप अरु भेरिएन्टहरूको उत्पादन बढाउँदै जाने कम्पनीको योजना रहेको । यसै आर्थिक वर्षभित्र हुन्डाई ग्राण्ड आइ १० एनआइओएसका साथै अल न्यू हुन्डाए क्रेटाको उत्पादन सुरू हुने कम्पनीले जनाएको छ ।
नेपालमै बनेको हुन्डाईको मूल्य साढे ४ लाख रुपैयाँसम्म सस्तो भएको छ । कम्पनीले नेपालमा उत्पादन भएको भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यसअघि यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ थियो । नेपालमा बनेसँगै यस गाडीको मूल्य ८.१६ प्रतिशतले सस्तिएको हो ।
यस्तै, कम्पनीले भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ । यसअघि ५७ लाख ९६ हजार रुपैयाँ थियो ।


