यूरोपमा एमजीलाई सर्वाधिक कर, बीवाइडीमा कति थपियो ?

काठमाडौं । युरोपियन यूनियनले चिनियाँ इलेक्ट्रीक भेहिकलमा थप कर लगाउने घोषणा गरेको छ । लामो अनुषन्धानपछि युरोपियन यूनियनले चिनियाँ विद्युतीय कारमा कर बढाएको हो ।

कर वृद्धिको सबैभन्दा ठूलो मार एमजीलाई परेको छ । एमजीको माउ कम्पनी एसएआइसी ग्रुप अन्तर्गत बन्ने सबै विद्युतीय कारमा अतिरिक्त ३८.१ प्रतिशत भन्सार लगाउने यूरोपियन यूनियनले घोषणा गरेको हो । यसमा मेक्सस ब्राण्ड पनि पर्छ ।

एसएआइसी चिनियाँ सरकारी लगानी भएको कम्पनी हो । यूरोपियन यूनियनले विशेषगरी चिनियाँ सरकारी लगानीका कार कम्पनीमा धेरै भन्सार वृद्धि गरेको छ । यसअघि यूरो जोन भित्र ईभीमा १० प्रतिशत भन्सार भाग्दै आएको थियो । त्यसमा थप कर लगाइएको हो । अब एसएआइसीका उत्पादनमा ४८.१ प्रतिशत भन्सार लाग्नेछ ।

आगामी महिना जुलाई ४ बाट लागु हुने नयाँ भन्सार दरमा जिलीका कारहरुलाई २० प्रतिशत र बीवाइडीका कारहरुमा १७.४ प्रतिशत थप भन्सार शुल्क लाग्नेछ । यस अनुसार जिलीमा ३० प्रतिशत र बीवाइडीमा २७.४ प्रतिशत भन्सार लाग्ने भएको हो ।

यूरोपियन यूनियनको निर्णय अनुसार चीनमा उत्पादन भएका कार मध्ये सबैभन्दा कम कर बीवाइडीमा थपिएको छ ।

इयुले चीनमा उत्पादन भएर युरोपमा निर्यात हुने टेस्लालाई भने कति भन्सार दर लाग्ने भन्ने निर्णय लिइसकेको छैन । उसले टेस्लाको केशमा भने छुट्टै तरिकाले भन्सार मूल्याङक गर्ने जनाएको छ ।

अनुषन्धान भएका बाहेक अन्य सबै चिनियाँ उत्पादन यूरो जोनमा प्रबेश गर्दा अतिरिक्त २१ प्रतिशत भन्सार लाग्नेछ । यसको मतलव चिनियाँ ईभीमा ३१ प्रतिशत कर लाग्ने भएको हो ।

युरोपियन कमिशनले गत वर्षबाटै चिनियाँ अटोमोवाइल कम्पनीमा सरकारले अनुदान दिएको विषयमा अनुसन्धान गरिरहेको थियो । केहि दिन अघि मात्र अमेरिकी सरकारले चीनमा निर्मित कारहरुमा ७५ प्रतिशतसम्मले भन्सार वृद्धि गरेको थियो ।


Back_to_top