१ महिनादेखि बन्द ट्रायल परीक्षा आइतबारदेखि खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै एक महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) खुल्ने भएको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्रायल सेन्टरहरूलाई सेवा सुचारु गर्न पत्र पठाएसँगै १ महिनादेखि बन्द ट्रायल परीक्षा आइतबारदेखि खुल्ने भएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकामा संचालित ४ ट्रायल सेन्टरको स्थलगत अध्ययन गरी मापदण्ड पूरा नभएको भन्दै ट्रायल रोक्न निर्देशन दिएको थियो । जसकारण जेठ पहिलोसातादेखि ट्रायल परीक्षा बन्द भएको थियो ।

अहिले ट्रायल सेन्टरहरूले केन्द्रले भने अनुसार सुधार गरेपछि पुनः सेवा सञ्चालन गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरु भक्तपुर, चाबहिल, गुर्जुधारा र ठूलोभर्याङलाई पत्रचार गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अनुसार जेठ ३ गतेदेखि भक्तपुरको इजी वे ट्रायल सेन्टर, गुजुधारको भेइकल एकेडेमी तथा रिसर्च सेन्टर, गोकर्णश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि र एकान्तकुनाको सुजुकी ड्राइभिङ स्कुलमा ट्रायल परीक्षा बन्द भएको थियो । ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अब सम्बिन्धत यातायात कार्यालयहरूले आफ्नो अनुकूल अनुसार ट्रायल संचालन गर्ने छन् । हालसम्म अरु कार्यालयले भने ट्रायल खुल्ने बारे सूचना जारी गरेका छैनन् ।

मन्त्रालयको पत्र आएसँगै यातायात व्यवस्था कार्यालय, भक्तपुरले भोलि (शुक्रबार)देखि आफ्ना सेवा सुरू हुने जानकारी गराएको छ ।

कार्यालका अनुसार भोलि (शुक्रबार) राजस्व बुझाउनले आइतबारदेखि ट्रायल परीक्षा दिन पाउने छन् । ‘यस कार्यालयको पूर्व प्रकाशित सूचना बमोजिम स्थगित भएको राजस्व बुझाउने, समय लिने र ट्रायल दिने सेवा भोलिबाट सुरु हुने भएको छ,’ सूचनामा भनिएको छ ।

आइतबारदेखि बाइक, स्कुटर र मझौलाको (एरके र बी) वर्गको ट्रायल दिन पाइने भएको छ । मिनी बसरमिनी ट्रक तथा ट्रक, बस, लहरी (एफरजी वर्ग)को ट्रायलका लागि पछि सूचना निकालिने कार्यालयले जनाएको छ ।


Back_to_top